१४ बैशाख २०८१, शुक्रबार

कृषि विश्वविद्यालयमा आगजनी


आगलागी

२८ कात्तिक, चितवन । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी गरेका छन् । मङ्गलबार साँझ ७ः३० बजे विश्वविद्यालय केन्द्रीय कार्यालय, कृषि डिनको कार्यालय र प्रशासन कार्यालय भवनको सिसा तोडफोडपछि आगजनी गरेका हुन् ।

प्रहरी चौकी रामपुरका इञ्चार्ज शिवमङ्गल चौधरीका अनुसार डिनको कार्यालय भवनको १५, केन्द्रीय कार्यालयका २५ र प्रशासन भवनको १२ वटा झ्यालका सिसा फुटेका छन् । प्रशासनको ढोका फुटाएर भित्र प्रवेश गरी पेट्रोल छर्किएर फर्निचर र कागजपत्रमा आगजनी गरेको उहाँले बताउनुभयो ।

केन्द्रीय कार्यालयको ढोका फोर्न नसकेपछि ढोकामै आगजनी गरेका थिए । तत्काल प्रहरी र विश्वविद्यालयका सुरक्षागार्डले आगो नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । यकिन तथ्याङ्क नआए पनि करीब रु २० लाखको क्षति भएको चौधरीले बताउनुभयो ।

उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पक्राउ परेकालाई मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो । निजी कलेजलाई दिइएको सम्बन्धन र भर्ना खुल्ला गरेको भन्दै आन्दोलित विद्यार्थीहरुले आगजनी र तोडफोड गरेका हुन् । सम्बन्धन दिएका निजी कलेजहरुलाई समेत समेटर कृषि तथा वन विज्ञान विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना प्रक्रिया शुरु गरेपछि प्राध्यापक र विद्यार्थीहरु आन्दोलित बनेका छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !