१४ बैशाख २०८१, शुक्रबार

ललितपुरको खोकनामा प्रहरी र किसानबीच झडप


ललितपुरको खोकनामा प्रहरी र किसानबीच झडप

ललितपुर, असार २० । आज शनिबार ललितपुरस्थित खोकनाका किसान र प्रहरीबीच झडप भएको छ । खेत रोपाइँ गर्न गएका किसानलाई प्रहरीले अवरोध गरेपछि झडप भएको हो । झडपका क्रममा प्रहरीले किसानका समूहलाई लक्षित गरी केही सेल अश्रुग्यास समेत हानेको छ । प्रहरीले अश्रुग्यास हानेपछि स्थानीय किसानले पनि ढुंगा हान्दा केही प्रहरी घाइते भएका छन ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले फाष्ट ट्रयाक पर्ने जमिनमा खोकनाका किसानले रोपाइँ थालेपछि प्रहरीले बल प्रयोग गरेको बताएका छन् । किसानहरूले आफ्नो जग्गाको मुआब्जा नपाएकोले खनजोत गर्न पाउनुपर्ने बताउँदै आएका छन् । विकासका नाममा पुख्र्यौली थातथलो कब्जा गरेको भन्दै खोकनाबासी रुष्ट बनेका छन् ।

किसानले संयुक्त रूपमा खेत रोपाइँका कार्यक्रम गरेपछि खोकना क्षत्रेमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । एसएसपी राईला अनुसार उनीहरुलाई प्रहरीले रोक्न खोजेपछि तनाव सिर्जना भएको हो । द्रुतमार्ग अन्तरगत खोकना क्षेत्रमा लामो समयदेखि जग्गा विवाद कायम छ । गत असार १५ को अवसर पारेर रोपाइ गर्न खोज्दा समेत स्थानीय र प्रहरीबीच विवाद भएको थियो ।

काठमाडौं-तराई द्रुतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ-भक्तपुर १३२ केभी प्रसारणलाइन खोकना हुँदै बनाउने तयारी छ । तर स्थानीयबासीले भने विकासका नाममा सांस्कृतिक शहरमाथि अतिक्रमण गरेको भन्दै विरोध गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !