हेटौँडा, ११ जेठ । एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि यहाँ थप उच्च सतर्कता अपनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हेटौँडा–४ की ५४ वर्षीया महिलामा कोरोना सङ्क्रमण भएको प्रेश विज्ञप्ति मार्फत जनाएको थियो । जोखिम हुन नदिन प्रशासनले लकडाउन पालनमा थप कडाइ समेत गरेको छ ।
बिहान ६ देखि ९ बजेसम्म बजार खुले पनि किनमेल गर्नेको कमी देखिएको छ । छिमेकी जिल्ला बारा र पर्सामा कोरोना देखिसकेको छ ।
हेटौँडा अस्पतालका पाँच जना चिकित्सकसहित २२ जनालाई क्वरेन्टिनमा राखिएको छ । अस्पताल समितिको बसेको बैठकले एक हप्ता अगाडि ती महिलाको उपचार गरेका कारण अस्पतालका चिकित्सकसहित कर्मचारीलाई क्वारेन्टिनमा राखिएको र स्वाब सङ्कलन शुरु भएको अस्पतालका डा हरिबहादुर खड्काले जानकारी दिनुभयो ।
अस्पतालका १५० मध्ये ६६ जनाको स्वाब सङ्कलन गरी हेटौँडास्थित किटजन्य रोग अनुसनधान तथा तालिम केन्द्र पठाइएको छ । फोर्सटी कलेजका प्राध्यापक दामोदर गैरेले कोरोनाको जोखिम हुन नदिन समाजिक दूरी कायम गर्न, घरमै बस्न आग्रह गर्नुभयो ।
वाग्मती प्रदेश प्रहरी कार्यालयले जथाभावी हिँडडुल गर्ने व्यक्ति, निजी तथा सार्वजनिक सवारी साधनलाई कारवाही गर्ने जनाएको छ ।