७ जेष्ठ २०८१, सोमबार

नेपालमा कोरोना संक्रमणवाट तेस्रो व्यक्तिको मृत्यु


क्रिमसन अस्पताल

रूपन्देही, जेठ ८ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालको आइसियूमा उपचाररत गुल्मीका कोरोना भाइरस संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालय प्रदेश नं. ५ का स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले पुष्टि गरेका छन् । डा. चौधरीले उनको आज बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको नेपालपत्रलाई बताए ।

गुल्मीको मदाने गाउँपालिका-६ पुर्कोट घर भएका ४१ वर्षीय मृतक व्यक्ति गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि क्रिमसन अस्पतालमा भर्ना भएका थिए । भर्ना भएको दिनदेखि नै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको थियो । उनी शिक्षण पेशामा आवद्ध थिए ।

जेठ २ गते स्वाब संकलन गरिएको थियो । भैरहवास्थित प्रयोगशालाले स्वाव परीक्षण गर्दा जेठ ५ गतेमात्रै उनका कोरोना पोजेटिभ देखिएको थियो । उनको सम्पर्कमा आएका चिकित्सकसहित ३८ जनाको स्वांब संकलन गरेर कोरोना परीक्षण गरिदैछ । उनको अन्य व्यक्तिसंगको सम्पर्कको विषयमा अध्ययन भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

हिजो बुधबार संक्रमितको मृत्यु भएको हल्ला फैलिएपछि अस्पतालले विज्ञप्ति जारी गर्दै मृत्यु नभएको जनाएको थियो । संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ । कोरोना संक्रमणपछि क्रिमसन अस्पताल शील गरिएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ । नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ४५ पुगेको छ । यसअघि नेपालमा सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना गरी २ जनाको कोरोना भाइरसको संक्रमणवाट मृत्यु भईसकेको छ । आज गुल्मीका उनको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ४४४ पुग्यो, आज बिहान थपिए कोरोनाका नयाँ १७ संक्रमित

नेपालमा ४५ जनाले जिते कोरोना, आज ८ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !