६ जेष्ठ २०८१, आइतबार

प्रतिष्ठानमा स्वाब परीक्षणले लिएन गति


नारायणपुर, २१ वैशाख । दाङमा यही वैशाख १२ गते देखि कोरोना भाइरस संक्रमण पत्ता लगाउन स्वाब परीक्षण शुरु भए पनि गति लिन सकेको छैन । अहिलेसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २३ जनाको मात्रै स्वाब परीक्षण भएको छ ।

पिसिआर विधिबाट जाँच गरिएका २३ जनामध्ये प्रतिष्ठानकै आइसोलेशनमा बसेका र जिल्ला बाहिरबाट आएकाको मात्रै स्वाब परीक्षण भएको प्रतिष्ठानले जनाएको छ । बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालले भने स्वाब परीक्षण गर्न जिल्ला बाहिर पठाउने गरेको छ । विशेष अस्पतालमा रहेका सात जनाको स्वाब परीक्षणका लागि गत बिहीबार नेपालगञ्जको प्रयोगशालामा पठाइएको थियो ।

प्रतिष्ठानमा ढिला हुने देखेर स्वाब परीक्षणका लागि नेपालगञ्ज पठाइएको बेलझुण्डी अस्पतालका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिनुभयो । “हामीले त जहाँ छिटो हुन्छ त्यहीँ जाँच गर्ने हो, नेपालगञ्ज छिटो हुने देखेर पछिल्लो पटक सात जनाको स्वाब नेपालगञ्जमा परीक्षण गरिएको हो”, शर्माले भन्नुभयो ।

राप्ती प्रतिष्ठानमा भर्खरै जाँच शुरु भएकाले पनि छिटो रिपोर्टको लागि नेपालगञ्ज पठाइएको उहाँले बताउनुभयो । प्रतिष्ठानमा धेरैको स्वाब पठाउँदा ढिला हुन सक्छ भनेर नै बाहिर पठाइएको जनाइएको छ ।

प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाश देवले एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिने भए पनि दिनमा एकदुई जनाको मात्रै परीक्षण भइरहेको जानकारी दिनुभयो । किटको अभाव भए पनि धेरै स्वाब परीक्षणका लागि नआएका कारण थोरैको मात्र भइरहेको उहाँले बताउनुभयो । प्रतिष्ठानमा अहिले जिल्ला बाहिर रोल्पा र कपिलवस्तुबाट पनि स्वाब परीक्षणका लागि ल्याइने गरेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !