२७ फाल्गुन २०८१, मंगलबार

पूरा गरे ६८० जनाले क्वारेन्टाइन अवधि


क्वारेन्टाइन

चितवन, १४ वैशाख । अन्यत्रबाट जिल्ला प्रवेश गरेका ६८० जनाले क्वारेन्टाइन अवधि पूरा गरेका छन् । कोभिड–१९ को संभावित जोखिम हुन नदिन अन्यत्रबाट जिल्ला आएकालाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार सार्वजनिक क्वारेन्टाइनमा रहेका ३५ र होम क्वारेन्टाइनममा रहेका ६४५ जनाले क्वारेन्टाइन अवधि पूरा गरेका हुन् ।

चैत महिनापछि विभिन्न देशबाट नेपाल आएका र अन्तरजिल्ला आउनेलाई क्वारेन्टाइनमा राखिएको थियो । अहिले जिल्लाका ६६ सार्वजनिक र होम क्वारेन्टाइनमा रहेको उहाँले जानकारी दिनुभयो । सार्वजनिक क्वारेन्टाइनमा ६४ र होम क्वारेन्टाइनमा ६८२ रहेका थिए ।

अहिले तीमध्ये २९ सार्वजनिक क्वारेन्टाइनमा र ३७ होम क्वारेन्टाइनमा रहेका छन् । कालिका नगरपालिका र राप्ती नगरपालिकामा रहेका सार्वजनिक क्वारेन्टाइनमा २९ रहेका छन् । लकडाउनको समयमा विभिन्न स्थानबाट जिल्लामा आएकालाई १७ दिनसम्म क्वारेन्टाइनमा राख्ने गरिएको छ । अहिले क्वारेन्टाइनमा रहेकामध्ये पाँच विदेशबाट आएका र अन्य ६१ अन्तर जिल्लाबाट यहाँ आएका रहेको उहाँले सूचना अधिकारी सिम्खडाले बताउनुभयो ।

होम क्वारेन्टाइनमा बस्नेलाई स्थानीय तहका स्वास्थ्यकर्मी र प्रहरीसँग समन्वय गरी राखिएको छ । लकडाउनको समयमा छिमेकी देश भारतको सिमानामा रोकिएकाहरु आजबाट जिल्लामा आउने भएकाले क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बढ्ने उहाँले बताउनुभयो । भारतमा क्वारेन्टाइनमा बसेकालाई पनि जिल्लामा ल्याएपछि पुनः क्वारेन्टाइनमा राखिने उहाँको भनाइ छ । सिमानामा रोकिएका नेपाल आउँदैछन् । उनीहरुलाई पुनः क्वारेन्टाइनमा राखिने छ । उनीहरु आज साँझसम्म जिल्लामा आइपुग्नेछन् ।

जिल्लामा हाल ३०० क्षमताको क्वारेन्टाइन र २९९ जना क्षमताको आइसोलेसन रहेको उहाँको भनाइ छ । जिल्लाका अन्य स्थानमा समेत क्वारेन्टाइन राख्नका लागि स्थानीय तहसँग समन्वय गरी पहिचानको काम भइरहेको उहाँले बताउनुभयो । हालसम्म जिल्लामा ८२९ जनाको ¥यापिड डाइग्नोष्टिक टेष्ट गरिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार उनीहरुमध्ये दुईमा पोजेटिभ र एक जनामा शङ्कास्पद नतिजा देखिएको थियो । पोजेटिभ देखिएकाको स्वाब परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको थियो भने शङ्कास्पद देखिएकी ६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये २७ वर्षीय छोरालाई अस्पतालले शनिबार डिस्चार्ज गरेको छ भने आमाको नतिजामा पेजेटिभ देखिएपछि अस्पतालमै राखी उपचार भइरहेको छ । यहाँ रहेको भरतपुर कोभिड–१९ प्रयोगशालामा ४७२ जनाको पिसीआर परीक्षण गरिसकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !