४ जेष्ठ २०८१, शुक्रबार

कोरोना भाइरस विरुद्धको खोपको उत्पादन तथा वितरण अति चुनौतिपूर्ण : डब्लुएचओ


डब्लुएचओ

एजेन्सी, ९ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अति तीव्र गतिमा निर्माण भएपनि त्यसको उत्पादन तथा वितरण अत्यन्तै कठिन हुन सक्ने चेतावनी दिएको छ । डब्लुएचओको आपतकालीन कार्यक्रमका कार्यकारी निर्देशक डा. माइकल रायनले सोमबार खोप चाँडै बनेपनि त्यसको पर्याप्त उत्पादन तथा वितरण अति चुनौतिपूर्ण रहेको बताएका हुन् ।

कोरोना भाइरसको संक्रमण भएका व्यक्तिको उपचार वा भाइरसविरुद्धको खोप अहिलेसम्म बनेको छैन । विश्वभरका २ दर्जन भन्दा बढी कम्पनीले खोपको उत्पादनका लागि काम गरिरहेको बताइसकेपनि ३ वटा सम्भावित खोप अहिले मानवीय परीक्षणको चरणमा छन् ।

अमेरिकाको नेशनल इन्स्टिच्युड अफ एलर्जी एण्ड इन्फेक्सिअस डिजिजका निर्देशक डा. एन्थोनी फाउचीले कोरोना भाइरसविरुद्धको खोप अझै कम्तिमा १८ महिनापछि मात्रै प्रयोगमा आउन सक्ने बताएका छन् । अरु विज्ञले सो समय अवधि पनि अति आशावादी भएको बताउने गरेका छन् ।

अहिले सही खोप पत्ता लगाउनमा अनुसन्धानकर्ता लागेका छन् । सही खोप बनेपछि विश्वको माग पूरा हुने गरी त्यसको उत्पादन गरिने पर्ने डब्लुएचओको आपतकालीन कार्यक्रमका कार्यकारी निर्देशक डा. रायनले बताएका छन् ।

विश्वका अर्बौँ मानिसलाई खोपको आवश्यकता पर्न सक्ने भएकाले सोही अनुसारको उत्पादन हुनुपर्ने उनको भनाई छ । सो खोप पहुँच भएका देशका लागि मात्रै उत्पादन गरिए त्यसको परिणाम भयावह हुने सक्ने चेतावनी समेत उनले दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !