४ जेष्ठ २०८१, शुक्रबार

लकडाउन थप्‍ने सरकारको तयारी, आज मन्त्रिपरिषद् बैठक बस्दै


वैशाख २, काठमाडौं । नेपाल सरकारले कोरोना भाइरस (कोभिड- १९) को संक्रमण फैलिन नदिन लकडाउन लब्याउनेबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज बिहान ११ बजे बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले १ हप्ता लकडाउन लम्ब्याउने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ ।

सरकारले अन्तिमपटक थपेको लकडाउनको समयावधि भोली बुधबार सकिँदैछ । देशभित्र कोरोना सङ्क्रमितको संख्या बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन एकसाता लम्ब्याउन लागिएको स्रोतको भनाइ छ ।

हिजो मात्रै नेपालमा थप २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । कैलालीकी एक महिला र रौतहटका एक युवकमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रिमित हुनेको संख्या १४ पुगेको छ।

कोरोना भाइरसका कारण सुदूरपश्चिम प्रदेशमा ५ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश-२ मा ४ जना र काठमाडौंमा ४ जना उपचाररत छन् । १ जना भने उपचारपछि घर फर्किसकेका छन् ।

यसैबीच हिजो मात्रै काठमाडौको सनसिटी अपार्टमेन्टमा पनि थप ३ जनामा कोरोना आशंका गरिएको छ । एकैघरका ३ जना सदस्यको एन्टिबडीको नतिजा पोजेटिभ आएपछि थप परीक्षणका लागि स्वाब जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

३ दिनअघि प्रधानमन्त्रीसँगको भिडिओ कन्फ्रेन्समा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरूले पनि लकडाउनको समय अझै केहीदिन बढाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले लकडाउन छिट्टै अन्त्य नहुने र सीमामा कडाइ हुने बताएका थिए।

भारतमा पनि लकडाउनको समय आजै सकिदै छ। त्यहाँ प्रधानमन्त्री मोदीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । सम्बोधनमै मोदीले लकडाउन लम्बाउने घोषणा गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतमा कोभिड-१९ का बिरामी दिनहुँ थपिरहँदा बेला नेपालमा थप सतर्कता र सावधानी अपनाउनुपर्ने माग बढ्दै गएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !