७ जेष्ठ २०८१, सोमबार

पोखरामा अलपत्र ३४० मुस्ताङवासीलाई राहत प्रदान


राहत

कास्की, १ वैशाख । कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन जारी बन्दाबन्दी(लकडाउन)का कारण पोखरामा अलपत्र माथिल्लो मुस्ताङवासीलाई गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ ।

हिउँदको समयमा चिसो छल्न र व्यापार व्यवसाय तथा अध्ययनका लागि यहाँ झरेका र लकडाउनले घर फर्किन नसकेका लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका ३४० जनालाई आज प्रदेश सरकारकोतर्फबाट राहतस्वरुप खाद्यन्न वितरण गरिएको हो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले पोखरा–२५ स्थित एक घरमा आश्रय लिएर बसेका २० जनालाई राहत वितरण गरी राहत बाँड्ने कार्यको शुभारम्भ गर्नुभएको हो ।

पोखराको चाउथे, पृथ्वीचोक, काजीपोखरी, हेमजालगायतका स्थानमा बसेकालाई राहत वितण गरिएको थियो । मुस्ताङबाट प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले व्यापार व्यवसायसँगै अध्ययनका लागि आएका विद्यार्थीसमेत गरेर ५१५ जना सवारी साधान नचल्दा घर जान नपाएर अलपत्र परेको जानकारी जानकारी दिनुभयो ।

विभिन्न गुम्बामा अध्ययन गर्ने विद्यार्थीलाई मुस्ताङका केही व्यक्ति मिलेर राहत प्रदान गर्न लागिएको बताइन्छ । चिसो बढेसँगै व्यापारका लागि वर्षेनी बेँसीमा झर्ने मुस्ताङीहरु गर्मी शुरु भएसँगै आआफ्नो घर फर्केने गरे पनि यसपटक लकडाउनका कारणले घर जान पाएका छैनन् ।

प्रदेश सरकारले विपद्को समयमा कोही पनि नागरिक भोकभोकै बस्न नपरोस् भनेर उनीहरुलाई राहत प्रदान गरिएको मन्त्री चुमानले बताउनुभयो । “कोरोनाका कारणले प्रभावितका लागि राहत दिन सरकारले ८५ वटै पालिकामा बजेट निकासा गरेको छ । आफ्नो गाउँ जान नपाएर शहरमा अलपत्र कतिपयले पालिकाबाट राहत पाउन सकेका छैनन्, उनीहरुलाई प्रदेश सरकार आफँैले राहत वितरण गरेको हो”, मन्त्री चुमानले भन्नुभयो ।

गण्डकी प्रदेश सरकारले कोरोबाट प्रभावित विपन्न, दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक तथा असहायका लागि राहत वितरण गर्न पोखरा महानगरपालिकालाई रु एक करोड, २६ नगरपालिकाहरुलाई प्रति नगरपालिका रु १० लाख तथा ५८ वटा गाउँपालिकालाई रु पाँच लाखका दरले कूल रु छ करोड ५० लाख बजेट निकासा गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !