झिमरुक, १७ चैत । कोरोना भाइरस (कोभिड—१९ )को सङ्क्रमण फैलन नदिनका लागि प्युठान अस्पतालले रुघाखोकी तथा ज्वरोका बिरामीका लागि छुट्टै उपचार कक्ष सञ्चालनमा ल्याएको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न थप सजगता अपनाउनका लागि अस्पतालले रुघाखोकी तथा ज्वरोका बिरामीका लागि छुट्टै उपचार कक्ष सञ्चालनमा ल्याएको हो । रुघाखोकी र ज्वरोका बिरामीलाई उपचार गर्ने र कोरोना भाइरसबाट सङ्क्रमित देखिएमा उनीहरुलाई उपचारका लागि आइसोलेशन कक्षमा पठाउने उद्देश्यले सो उपचार कक्ष स्थापना गरिएको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा.अमृत पन्थीले जानकारी दिनुभयो । हालसम्म कोरोना भाइरसकाट सङ्क्रमित बिरामी नआएको उहाँले बताउनुभयो ।
निमित्त सुपरिटेण्डेन्ट डा.पन्थीले अस्पतालले चार वटा आइसोलेशन वेड बनाएर तयारी अवस्थामा राखिएको उल्लेख गर्दै आवश्यकता परेमा त्यसलाई विस्तार गर्दै लैजाने बताउनुभयो । मौसमी रुघाखोकीका बिरामीहरुले पनि कोरोना भाइरसको आशंकामा बढी त्रसित हुने गरेको उहाँले बताउनुभयो । सो अस्पतालमा छिमेकी जिल्ला रोल्पा, अर्घाखाँचीलगायत बिरामी उपचारका लागि आउने गरेका छन् ।
ज्वरोका बिरामी बढ्दै
ज्वरोका दैनिक १० देखि १५ जना बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । मौसम परिवर्तनसँगै अहिले रुखाखोकी र ज्वरोका बिरामी बढी देखिने गरेको डा.पन्थीले बताउनुभयो । ।.
ओपिडी तथा ल्याव सेवा निःशुल्क
लकडाउनको समयमा अस्पतालमा आएका विरामीहरुका लागि ओपडी तथा ल्याव सेवा, औषधी समेत निःशुल्क प्रदान गरिँदै आएको अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डा. पन्थीले बताउनुभयो ।
कोरोना सङ्क्रमणको समयमा सरकारले गरेको लकडाउन शुरु भएदेखि निःशुल्क सेवा प्रदान गर्दै आएको उहाँको भनाइ छ । साथै जिल्लामा रहेका दर्घिरोगीलाई आवश्यकताका आधारमा घरमै गएर उपचार गरिने डा. पन्थीले बताउनुभयो ।