१९ बैशाख २०८१, बुधबार

एक हप्तामै ३८ हजारभन्दा बढी कोरोना संक्रमित थपिए


नेपालमा कोरोना

काठमाडौँ । पछिल्लो एक हप्तामा नेपालमा ३८ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो एक हप्तामा ३८ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका हुन् ।

सबैभन्दा बढी हिजो १० हजार २५८ जना नयाँ संक्रमित थपिएका हुन् । दैनिक संक्रमित बढिरहेका छन् । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक संक्रमित हुनेको सङ्ख्या पनि बढिरहेको छ ।

पछिल्लो एक हप्ताको तथ्याङ्कअनुसार पुस २८ गते तीन हजार ७५, पुस २९ गते तीन हजार ५५३, पुस ३० गते पाँच हजार ८७, माघ १ गते चार हजार ६३६, माघ २ गते चार हजार ९६१, माघ ३ गते छ हजार ७३४ संक्रमित थपिएका हुन् ।

यस एकहप्ताको बीचमा सक्रिय संक्रमित हुने सङ्ख्या पनि बढेको छ । पुुुस २८ गते ११ हजार ६९० सक्रिय सङ्क्रमित रहेकोमा यो सङ्ख्या बढेर हिजो ३९ हजार ४४ पुगेको छ । पुस २८ गते कूल परीक्षण गराएकामध्ये २३.६ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो भने आज ४४.९ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !