२१ बैशाख २०८१, शुक्रबार

खोप लगाएका भन्दा नलगाएकामा संक्रमण १० गुणा, सिकिस्त हुने १७ गुणा र मृत्यु २० गुणा


ओमिक्रोन

काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणदर, बिरामी भएर सिकिस्त हुने दर र मृत्युदर खोप लगाएकाभन्दा नलगाएका व्यक्तिमा धेरै भएको पाइएको छ ।

कोरोना भाइरसविरुद्धको खोप लगाएका भन्दा नलगाएकालाई ओमिक्रोन भेरियन्टको संक्रमण सर्ने सम्भावना १० गुणा र सिकिस्त भएर अस्पताल भर्ना हुने सम्भावना १७ गुणा र मृत्यु हुने सम्भावना २० गुणा बढी रहने पनि विज्ञहरूले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आज बोल्दै संक्रामक रोग विशेषज्ञ प्रा. डा. जनक कोइरालाले भर्खरै सार्वजनिक भएको अध्ययनमा खोप नलगाएका व्यक्तिमा संक्रमणदर धेरै रहेको पाइएको बताए ।

डा. कोइरालाले कोभिड-१९ को ओमिक्रोन भेरियन्ट यसअघि फैलिएको डेल्टा भेरियन्टभन्दा अत्यधिक संक्रामक भएकाले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएका छन् ।

डा. कोइरालले अहिले नेपालमा ओमिक्रोनकै कारण संक्रमण फैलिरहेको हुनसक्ने र एकजना ओमिक्रोन संक्रमितले १० जनालाई सारिरहेको बताए । यसअघिको डेल्टा भेरियन्टले ४ देखि ५ जनालाई संक्रमण सार्ने देखिएको थियो भने ओमिक्रोन संक्रमितले १० जनासम्मलाई सार्नसक्ने देखिएको उनले बताए ।

उनले पछिल्ला अध्ययनहरूले भिडभाड गर्ने, मास्क, स्यानिटाइजर र खोप नलगाउनेमा ओमिक्रोनको संक्रमण बढि देखिएको बताए । त्यस्तै, डेल्टाजस्तो मृत्यु गराउने नभए पनि एकदम छिटो धेरै जनसंख्यालाई संक्रमण गराउने भएकाले यसले ठूलो क्षति गराउन सक्ने सम्भावना रहेको उनको भनाइ छ ।

अहिले तेस्रो लहरको अनुमान गर्न सकिने भए पनि एकीन गरेर भन्न नसकिने उनको भनाइ छ । उनले पछिल्लो सातामा २०० रहेको केस बढेर ३ हजार पुग्दा तेस्रो लहरको अनुमान गर्न सकिने समेत बताए ।

डा. कोइरालाका अनुसार ओमिक्रोनले फोक्सोमा भन्दा घाटी, नाक, श्वासनलीमा संक्रमण गराउने उनले बताए । डा. कोइरालाका अनुसार डेल्टा भेरियन्टले सिधै छातीमा निमोनिया गराउँथ्यो भने ओमिक्रोन भेरियन्टले फोक्सोमा संक्रमण तथा निमोनिया गराएको भने नदेखिएको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !