२१ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिममा कोरोना संक्रमणवाट आज २ जनाको मृत्यु


नेपाल कोरोना मृत्यु

सुदूरपश्चिम । पछिल्लो २६ दिन यता कोरोना सङ्क्रमितको मृत्यु दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा आज दुई सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीको कोभिड अस्पतालमा उपचाररत डोटीको शिखर नगरपालिकाका–३का ६५ वर्षीया महिला र दिपायल सिलगढी नगरपालिकाका–१ का ३३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

अस्पतालको भेन्टिलेटरमा दुई, आइसियू (सघन उपचार कक्ष)मा पाँच, अक्सिजनको सहयोगमा छ जना र अन्य १६ सङ्क्रमित उपचाररत छन् । सो अस्पतालमा पछिल्लो २४ घण्टामा १२१ को नमूना परीक्षण गरिएकोमा २४ जनामा सङ्क्रमण देखिएको छ ।

अस्पतालमा आज छ जना नयाँ बिरामी भर्ना हुनुभएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा प्रदेशभरिका जिल्लामा नमूना परीक्षण भएका ८९३ मध्ये ७३ मा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाएको छ ।

यो अवधिमा २२ जना उपचार व्यवस्थापन पछि घर फर्किनुभएको छ । गएको जेठ महिनासम्म उच्च रहेको कोरोना भाइरसको सङ्क्रमण र मृत्यु दर असार महिना शुरु भएसँगै घटेको थियो ।

तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणवाट भइरहेको लापरवाहीले कोरोना भाइरस सङ्क्रमण थप बढ्न सक्ने जोखिम देखिएको स्वास्थ्यकर्मीको भनाइ छ । कोरोना भाइरस रोकथामका लागि जारी गरिएको निषेधाज्ञा खुकुलो पारिएसँगै तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नहुँदा सङ्क्रमण बढ्ने जोखिम बढेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !