१४ बैशाख २०८१, शुक्रबार

कोरोनाको तेस्रो लहरको पूर्वतयारी सरकारले शुरु गरेको छ : स्वास्थ्यमन्त्री तामाङ


शेरबहादुर तामाङ

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोना भाइरस संक्रमणको तेस्रो लहरको पूर्वतयारी सुरु गरिएको बताएका छन् ।मन्त्री भएपछि पहिलोपटक मन्त्रालयद्वारा आयोजित विशेष पत्रकार सम्मेलनमा भर्चुअल माध्यमबाट संचारकर्मी बोल्दै मन्त्री तामाङले मन्त्रालयले तेस्रो लहरको पूर्वतयारी सुरु गरेको जानकारी दिए ।

उनले भने, ‘तेस्रो लहरमा बालबालिकालाई प्रभावित बनाउने हो कि भन्ने छ, त्यसैले सातै प्रदेशमा बालबालिकालाई चाहिने आवश्यक आईसीयु कक्षसहितको अस्पताल बनाउने तयारी गर्दैछौं ।’मन्त्री तामाङले मन्त्रालयले गर्ने सबै काम पारदर्शी हुने बताए । ‘निष्ठापूर्वक, नियमपूर्वक गर्दा पनि त्रुटि भयो भने खबरदारी गर्न आम नागरिकलाई अपिल गर्दछु,’ उनको भनाइ छ ।

मन्त्री तामाङले मेरो आज नै अन्तिम दिन हो भन्ने स्मरणमा राखेर काम गर्ने बताए । ‘भरे गरौंला, भोलि गरौंला भनेर राख्दिन, आज नै मेरो अन्तिम दिन हो भनेर काम गर्नेछु,’ उनको भनाइ छ ।

तामाङले कोरोना भाइरसको तेस्रो लहरसँग जुध्न सातै प्रदेशमा बालबालिका अस्पताल स्थापना गरिने बताएका छन् । उनले कोभिड-१९ महामारीको बढ्दो जोखिमसँग जुध्न सरकारले सातै प्रदेशमा बालबालिकाको उपचार गर्न छुट्टै स्थानमा अस्पताल र आईसीयू निर्माण गर्ने स्पष्ट गरेका हुन् ।

तामाङले आफ्नो पहिलो प्राथमिकतामा भनेको नागरिकको जीवनरक्षा गर्नु रहेको बताएका छन् । उनले कोरोना कहरबाट नागरिकलाई मुक्त गराउनु आफ्नो प्रमुख दायित्व रहेको समेत बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !