२१ बैशाख २०८१, शुक्रबार

चितवनमा जेठ २० गतेसम्म निषेधाज्ञा थपियो


निषेधाज्ञा

चितवन । कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ गतेदेखि लागु गरेको निषेधाज्ञा जेठ २० गतेसम्मका लागि थप गरेको छ । दोस्रो चरणमा जारी गरेको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णयानुसार निषेधाज्ञाको समय थप गरिएको जनाइएको छ । पहिलो र दोस्रो चरणको निषेधाज्ञाले कोरोना सङ्क्रमणको फैलावट कम गर्न केही सहयोग गरेको निश्कर्षसहित थप एक साता निषेधाज्ञा थप्ने निर्णयमा पुगेको जानकारी लामिछानेले दिनुभयो ।

निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक कोही व्यक्ति घरबाट ननिस्कन तथा हिँडडुल नगर्न, अत्यावश्यक काममा हिँड्नु पर्ने भएमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न र तोकिएको जनस्वास्थ्य मापदण्ड पालना गर्न आदेशमा उल्लेख गरिएको छ ।

सभा, सम्मेलन, गोष्ठी तालिम, सेमिनार, जात्रा, महोत्सव, सिनेमा, पार्टीप्यालेस, हेल्थक्लब, दोहोरी रेष्टुरेन्ट, फनपार्क, फुटसल, पुस्तकालय, सङ्ग्रहालय, फिटनेस, सेन्टर, जिमखाना, स्पा, स्विमिङपुल, ब्युटीपार्लर, सैलुन, टेलरिङ, फुटपाथ पसल जस्ता बन्द रहने लामिछानेद्वारा जारी आदेशमा उल्लेख छ ।

यस्तै होटल तथा रेष्टुरेन्टबाट टेक अवे बाहेकका अन्य सेवा सञ्चालन नगर्न, विश्वविद्यालय, क्याम्पस, विद्यालयलगायतका सबै शैक्षिक संस्थाहरुमा भौतिकरूपमा उपस्थित भई हुने पठनपाठन तथा परीक्षालगायतका शैक्षिक गतिविधि नगर्न, विवाह, व्रतबन्धलगायतका संस्कारजन्य कार्यक्रमहरु होटल तथा पार्टी प्यालेसमा सञ्चालन नगर्न, घरमा सञ्चालन हुने यस्ता कार्यमा १० जनाभन्दा बढी सहभागी नहुनसमेत आदेशमा अनुरोध गरिएको छ । मृत्यु संस्कारमा १५ जनाभन्दा बढी सहभागी नहुन, लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन नगर्न, मठमन्दिर, मस्जिद, गुम्बा तथा चर्चलगायतका धार्मिक स्थलमा नित्य पूजाबाहेक जमघट नगर्न आदेश जारी गरिएको छ ।

आदेशमा निकुञ्जमा जिप सफारी तथा जलयात्रा नगराउन सबैलाई आग्रह गरिएको छ । यस्तै आदेशमा तरकारी, फलफूल, खाद्यान्न, कुखुराका अण्डा, चल्ला दाना, माछा, मासु खरिदका लागि बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्मका लागि समय तोकिएको छ । औषधि, पेट्रोलपम्प, दूध डेरी, दूरसञ्चार, इन्टरनेट, विद्युत्, फोहोरमैला व्यवस्थापन, खानेपानी आपूर्तिसम्बन्धी सेवा, अत्यावश्यक सेवा प्रयोजनका लागि न्यूनतम कर्मचारी खटाई आइतबार, मङ्गलबार र बिहीबार मात्र तोकिएको मापदण्डको पालना गराई बैंक सञ्चालन गर्न पाइने तर अन्य वित्तीय संस्था तथा सहकारी सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ । उक्त आदेशको पालना नगरे सङ्क्रमण रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही गरिने आदेशमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !