७ बैशाख २०८१, शुक्रबार

पश्चिमाञ्चल अस्पतालमा अक्सिजन प्लान्ट स्थापना अभियान


अक्सिजन प्लान्ट स्थापना अभियान फाइल फोटो

कास्की । गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई सरकारले गत वर्र्ष कोरोनाको पहिलो चरण शुरु भएलगत्तै कोभिड–१९ को उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकेको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको यस अस्पतालमा ५० शय्या कोरोना सङ्क्रमितको उपचारका लागि छुट्याइएको छ । पछिल्लो समय सङ्क्रमण तीव्ररूपमा बढ्दै जाँदा कोरोना उपचारको ‘लेबल एक’ र ‘लेबल दुई’ दुवैको उपचार गर्ने गरी तोकिएको अस्पतालमा उपचारका लागि शय्या अभाव हुन थालेपछि अस्पतालले क्षमता विस्तार गर्न लागेको छ ।

अहिले अस्पतालमा भर्ना भएका अधिकांश कोभिड–१९ का बिरामीलाई उपचारमा अक्सिजन आवश्यक छ । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट नहुँदा निजी कम्पनीबाट आयात गर्नुपर्ने बाध्यता छ ।

प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट नरहेको र अक्सिजन अभावमा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आउन लागेपछि पोखराका निजी क्षेत्रका अगुवाहरुको पहलमा नागरिकस्तरबाट अक्सिजन प्लान्ट स्थापनाको योजना अघि बढाइएको छ ।

पोखराको अग्रणी व्यापारिक घराना बतास अर्गनाइजेशनको पहलमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नागरिकस्तरबाटै अक्सिजन प्लान्ट स्थापना गर्ने अभियान शुरु गरिएको छ ।

सो अभियानमा अहिले यहाँका उद्योगी, व्यवसायी, व्यक्ति तथा संस्थाबाट स्वतस्फूर्त रकम सङ्कलन भइरहेको छ । अस्पतालमा कम्तीमा रु तीन करोड लगानीमा छिट्टै प्लान्ट स्थापना गरिने अभियन्ता एवं सो अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले बताए । पोखरासहित गण्डकी प्रदेशमा अक्सिजनको अभावमा बिरामी उपचारबाट बञ्चित हुन नपर्ने उद्देश्यले प्लान्ट स्थापना गर्ने योजना अघि बढाइएको उहाँले बताए ।

“अस्पतालमा अक्सिजन उपलब्धताको कमीले हुने मृत्युबाट जोगाउन अक्सिजन प्लान्ट राख्ने यो पोेखरेलीको साझा अभियान हो । सहयोग आउने क्रम जारी रहेको छ, सकेसम्म छिटोभन्दा छिटो सामान आयात गरी प्लान्ट स्थापनाको काम अघि बढाउँछौँ”, अभियनकर्मी बतासले भने ।

अक्सिजन प्लान्टका स्थापना अभियानका लागि रु एकदेखि आफूले चाहेजति रकम प्रदान गर्ने सकिने छ । सो अभियानमा हालसम्म रु दुई करोड ५० लाख सहयोगको प्रतिबद्धता आइसकेको छ । अभियानमा बतास फाण्डेशनबाट रु २५ लाख र आफनो विभिन्न कम्पनीबाट रु २५ लाख गरी रु ५० लाख सहयोग प्रदान गरिने अध्यक्ष बतासले जानकारी दिए ।

प्लान्ट स्थापना अभियानमा स्व समाजसेवी सूर्यबहादुर केसीको स्मृतिमा केसी ग्रुप, अटोवेज प्रालिका प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेल र सेलवेज डिपार्टमेन्टल स्टोर्सका सञ्चालक सुशील प्रधानाङ्गबाट जनही रु २५ लाख सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

यसैगरी सुपर मादी हाइड्रोपावरका अध्यक्ष पुष्पज्योति ढुङ्गाना, क्वालिटी एग्रिगेटका सञ्चालक देवबहादुर ज्वारचन र बी रिभर माइनिङ प्रालिबाट जनही रु २५ लाखका दरले सहयोगको प्रतिबद्धता गरिएको छ । अन्य व्यक्ति तथा संस्थाबाट समेत सहयोग रकम प्राप्त हुने क्रम चलिरहेको बताइन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !