१९ बैशाख २०८१, बुधबार

चीनबाट २० लाख कोरोना खोप नेपाल ल्याउने तयारी


चीनबाट २० लाख कोरोना खोप नेपाल ल्याउने तयारी

काठमाडौँ । उत्तरको मित्रराष्ट्र चीनबाट कोरोना भाइरस (कोभिड-१९) विरूद्धको १० लाख खोप नेपाल ल्याउने तयारी भइरहेको छ । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेको पहलमा यही मे महिनाको अन्तसम्ममा १० लाख खोप नेपाल ल्याउने तयारी भइरहेको हो ।

यस्तै अर्को १० लाख खोप जुनसम्ममा नेपाल पठाउन तयारी भइरहेको पनि राजदूत पाण्डेले बताएका छन् । राजदूत पाण्डेका अनुसार खोप नेपाल ल्याउने मिति निश्चित नभएपनि १० लाख मेको अन्तसम्म र अर्को १० लाख गरी २० लाख कोरोना खोप ल्याउने बारेमा उनी सक्रिय भएर लागिपरेका छन् ।

नेपालमा कोरोना महामारी भयावह बन्दै गएको वर्तमान परिप्रेक्षमा चाँडो भन्दा चाँडो खोप उपलब्ध गराउन चिनियाँ पक्षलाई उनले अनुरोध गरिरहेका छन् । चीनको कोरोनाविरूद्धको खोप निर्माता तथा उत्पादकमध्येको एक साइनोफार्मसँग तत्काल २० लाख डोज माग गरेको हो ।

चीनले नेपाललाई यसअघि साइनोफार्मबाट उत्पादित भेरोसेल खोपको ८ लाख डोज अनुदान स्वरूप दिएको थियो । यस पटकको २० लाख डोज चीनले अनुदानमा दिने या खरिद गर्नुपर्ने त्यसको निर्क्योल भने भइ नसकेको बुझिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिनियाँ कोरोना खोप सिनोफार्मले बनाएको कोरोना खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ । डब्लूएचओले युरोप र अमेरिकाबाहिर उत्पादित कोरोना खोपलाई अनुमति दिएको यो पहिलो पटक हो ।

सिनोफार्मले उत्पादन गरेको कोरोना खोप भेरोसेल चीनमा लाखौं नागरिकलाई लगाइ सकिएको छ । यस्तै विभिन्न ल्याटिन अमेरिकी र एसियाली मुलुकले पनि भेरोसेललाई आपत्कालीन प्रयोगको अनुमति दिइसकेका छन् ।

नेपालको औषधि व्यवस्था विभागले भेरोसेललाई फागुन ५ गते आपत्कालीन प्रयोगका लागि अनुमति दिएको थियो । चीन सरकारले नेपाललाई ८ लाख डोज भेरोसेल सहयोगमा उपलब्ध गराएको छ ।

चीनमा उत्पादित कोरोना खोपको गुणस्तर र विश्वसनीयतामाथि विभिन्न कोणबाट प्रश्न उठिरहेका बेला डब्लूएचओले मान्यता दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । शुक्रबार डब्लूएचओले उक्त खोप ‘सुरक्षित, प्रभावकारी र गुणस्तरीय’ रहेको जनाएको हो ।

डब्लूएचओले उक्त खोप १८ वर्षभन्दा माथिका उमेर समूहलाई २ डोज दिन सिफारिस गरेको छ । यो खोप अस्पताल भर्ना भएका र लक्षण देखिएका व्यक्तिमा ७९ प्रतिशतसम्म प्रभावकारी देखिएको पनि डब्लूएचओले बताएको छ । यो खोपलाई २ देखि ८ डिग्री सेल्सियसम्मको तापक्रममा सुरक्षित ढंगले भण्डारण गर्न सकिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !