६ जेष्ठ २०८१, आइतबार

तनहुँमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु


मृत्यु

दमौली । कोरोना संक्रमणका कारण तनहुँको शुक्लागण्डकी नगरपालिकाका १ जना पुरुषको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–९ का ८३ वर्षीय पुरुषको पोखरास्थित मेडिप्लस अस्पतालमा उपचार क्रममा आज मृत्यु भएको हो । उनमा वैशाख ८ गते कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । उनमा निमोनिया लगायत समस्या रहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसैगरी गोरखाको पालुङटार नगरपालिका–५ की ६७ वर्षीया महिलाको पनि उपचारको क्रममा आज मृत्यु भएको छ । उनमा वैशाख १३ गते सङ्क्रमण पुष्टि भएको थियो । यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २१७ पुगेको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

आइसोलेशन कक्ष सञ्चालन गरिने

जिल्लामा विगतमा सञ्चालनमा रहेका आइसोलेशन कक्ष पुनः सञ्चालनमा ल्याइने भएको छ । कोभिडको जोखिम पुनः वृद्धि हुँदै गएपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले विगतमा सञ्चालनमा भएका आइसोलेशन कक्ष पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

जिल्लामा कोभिडको जोखिम कम हुँदै गएको र सङ्क्रमित नभएपछि विगतमा सञ्चालनमा रहेका आइसोलेशन कक्ष सञ्चालनमा थिएनन् । सङ्कट व्यवस्थापन केन्द्रले सबै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा पूर्वाधारसहित आइसोलेशन कक्ष तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यका अनुसार बैठकमा नयाँ भेरियन्टको कोभिड–१९ महामारी नेपालमा बढ्दै गएको र त्यसलाई नियन्त्रण गर्न चालिने कदमका बारेमा छलफल भएको थियो । शुक्लागण्डकीस्थित जिपी कोइराला उपचार केन्द्रले २५ उच्च निर्भरता एकाइसहित कम्तीमा ५० श्ययाको आइसोलेशन तयारी अवस्थामा राख्ने निर्णय भएको छ ।

बैठकले मन्त्रिपरिषद्को वैशाख ६ गतेको निर्णयअनुसार जारी भएको आदेशअनुसार सवारी साधन सञ्चालन भए नभएको अनुगमन गरी कारवाही गर्ने एवं अन्य विषयमा नेपाल प्रहरी र स्थानीय तहले अनुगमन गर्ने निर्णय गरेको छ ।

मठमन्दिरमा पूजा बन्द

कोरोनाको जोखिम बढेपछि तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थलमा पूजाआजा बन्द गरिएको छ । व्यास नगरपालिकामा अवस्थित छाब्दीबाराही मन्दिर र शुक्लागण्डकी नगरपालिकामा अवस्थित ढोरबाराही मन्दिरमा आजदेखि पूजा बन्द गरिएको हो ।

कोरोनाको जोखिम बढ्न थालेपछि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सबै धार्मिक तीर्थस्थल, गुम्बा, मस्जिद, चर्चलगायत जमघट नगर्न निर्देशन जारी गरेको थियो । सोहीबमोजिम व्यास नगरपालिका–१४ स्थित छाब्दीबाराही मन्दिर र शुक्लागण्डकी नगरपालिका–९ स्थित ढोरबाराही मन्दिरमा पूजाआजा रोकिएको हो ।

छाब्दीबाराही मन्दिरका अध्यक्ष प्रेम थापाले कोरोनाको त्रास बढेसँगै मन्दिरमा पूजाआज रोक लगाइएको जानकारी दिए । “मन्दिरमा पूजाआजाका लागि विभिन्न जिल्लाबाट भक्तजन आउने र कोरोनाको जोखिम बढ्ने भएकाले पूजाआजा रोक लगाइएको हो”, उनले भने, “नित्य पूजा भने नियमित रहन्छ ।” शनिबारका दिन छाब्दीबाराही मन्दिरमा भक्तजनको अत्यधिक भीडभाड रहने गर्दछ ।

शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले आजदेखि ढोरबाराही मन्दिरमा पूजा रोकिएको जानकारी दिए । “प्रशासनले मन्दिरमा भीडभाड नगर्न सूचना जारी गरिसकेको अवस्थामा आजदेखि पूजा रोकिएको छ”, श्रेष्ठले भने ।

कोरोना कहरका कारण बन्द रहेको मन्दिर गत मङ्सिरदेखि मात्र भक्तजनका लागि खुला गरिएको थियो । बाजस्थलमा रहेको ढोरबाराही मन्दिरलाई भगवान् विष्णुको तेस्रो अवतारका रुपमा लिइन्छ । मन्दिरको दर्शन गरेमा भाकल पूरा हुने, रोगव्याधि निको हुने जनविश्वास छ । यसर्थ टाढा टाढाबाट भक्तजन आउँछन् ।

जङ्गलले चारैतिर घेरिएको पहाडको बीचमा मनोरम स्थानमा मन्दिर छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीमा रहेको माछाले भक्तजनको मन रमाउँछ । मन्दिर परिसरको करिब १५ फिट फराकिलो पोखरी र पोखरीको बीचमा दुइजोर शिला छन् । पोखरीमा कम्तीमा पन्ध्र मिनेटको अन्तरालमा छुट्ने रहस्यमय लहरी (पानी घटबढ) हुनुले ढोरबाराही मन्दिरप्रतिको आस्थालाई अझ बढाएको छ ।

पोखरीको मूलबाट पानीको ठूलो भल आउँछ । एकैछिनमा फेरि स्वतः घट्दै जान्छ । यसरी यहाँको पोखरीमा लहरी छुट्नुलाई धार्मिक आस्थासँग जोडिएको छ । ढोरबाराही माता प्रसन्न हँुदा लहरी छुट्ने धार्मिक कथन छ । मन्दिरमा चल्ने लहरीलाई महत्वपूर्ण दैवीशक्तिका रुपमा लिइने गरिन्छ ।

मन्दिरमा बडादशँैको नवदुर्गा, चैतेदशैँको नवदुर्गा, नयाँवर्षको दिन, वैशाख महिनाभर, श्रीपञ्चमी र हिउँदयाममा भक्तजनको ओइरो लाग्ने गर्छ । मनले चिताएको पूरा हुने जनविश्वासका साथ मन्दिरमा तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, चितवन, नवलपरासीलगायत देशका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् ।

यस मन्दिरलाई हिन्दू धर्मावलम्बीको आस्थाको धरोहरसमेत मानिँदै आएको छ । हिमवत्खण्ड पुराणमा समेत चर्चा गरिएको ढोरबाराही मन्दिरमा देवीको चर्तुवाहु मूर्तिसमेत पाइन्छ । यस मन्दिरमा विसं १९०४ सालदेखि चढाइएका घण्टसमेत रहेका छन् ।

ढोरबाराही माता प्रशन्न हुँदा लहरी छुट्ने किंवदन्ती रहेको छ । उक्त पोखरीमा हिउँदयाममा केही समय लहरी छुट्दैन । हिउँदको समयमा ढोरबाराही माता माइत जाने भएकाले लहरी नछुट्ने कथन छ ।

मस्जिदमा सामाजिक दूरी

व्यास नगरपालिका–४ स्थित नुरी हनफी जामे मस्जिदमा सामाजिक दूरी कायम गरी नमाज पढ्ने गरिएको छ । मुस्लिम समुदायको महान् पर्व रमदान चलिरहेकाले मुस्लिम धर्मावलम्बीले सचेतना अपनाएर मस्जिदमा नमाज पढ्ने गरेका हुन् ।

मस्जिदका सचिव मन्सुर अहमदले २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको जानकारी दिनुभयो । “सबैजना डराएको अवस्था छ, अधिकांश घरमै नमाज पढ्नुहुन्छ”, उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !