२२ बैशाख २०८१, शनिबार

कोरोना कहरमा रक्तदानको महत्व अझै बढी छ : सभामुख सापकोटा


अग्निप्रसाद सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कोभिड-१९ को जोखिमका बेला रक्तदानको महत्व अझै बढेर गएको बताउनुभएको छ । १४ औँ सङ्घीय संसद् सेवा दिवस-२०७७ का अवसरमा आज संसद् सचिवालय परिसर, सिंहदरबारमा आयोजित रक्तदानको सुभारम्भ गर्नुहुँदै सभामुख सापकोटाले कोरोनाका कारण सृर्जित विषमताका बेला गरिएको रक्तदानको महत्व अधिक रहेको चर्चा गर्नुभयो ।

सङ्घीय सांसद डा विमला राई पौडेललाई रक्त थैली (ब्लड ब्याग) हस्तान्तरण गरी रक्तदानको सुभारम्भ गरेपछि संक्षिप्त सम्बोधनका क्रममा सभामुख सापकोटाले भन्नुभयो, “रक्तदान जीवनदान त्यत्तिकै भनिएको होइन, रक्तदानको सधैभरी महत्व छ, अहिले झनै महत्व छ ।”

सभामुख सापकोटाले दैनिक रगत अभावको खबर आइरहेको स्मरण गर्दै आज गरिएको रक्तदानले सो अभाव टार्न सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । संसद् सेवा दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा दुई जना सांसद, कर्मचारी र सञ्चारकर्मीलगायतले रक्तदान गरेका थिए । सङ्घीय संसद् सचिवालयले संसद् सेवा दिवस २०७७ का अवसरमा उच्च स्वास्थ्य सतर्कता अपनाउँदै विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । विसं २०६३ देखि हरेक वर्ष मङ्सिर २८ का दिन सङ्घीय संसद् सेवा दिवस मनाइँदै आइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !