चितवन, १० भदौ । भरतपुर महानगरपालिकाले कोरोना सङ्क्रमण देखिएका पहिलो चरणका बिरामीलाई प्राकृतिक चिकित्सासँगै उपचार गर्ने भएको छ । श्री वागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमअन्तर्गत योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय सञ्चालन भएको वागेश्वरीमा आजबाट आइसोलेसन सञ्चालन गरी सङ्क्रमितको उपचार गर्न लागेको हो ।
सो ठाउँमा रहेका २२ वटामध्ये पाँच घरमा रहेका कोठाहरुलाई व्यवस्थित गरी आइसोलेसन बनाइएको छ । एउटा घरमा शौचालयसहितका पाँच कोठा रहेका छन् । यसअघि यहाँको पुरानो मेडिकल कलेजले आवास बनाएको ठाउँमा पछि आश्रमले चिकित्सालय चलाएको हो । चिकित्सालय रहेकै क्षेत्रमा रहेका खाली भवनमा आइसोलेसन सञ्चालन गर्न लागिएको हो ।
भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार आज साँझसम्ममा आइसोलेसन सबै तयार हुनेछ । आजबाटै बिरामी राखिने उहाँले बताउनुभयो । बिरामी राखेपछि भित्र काम गर्न कठिन हुने भएकाले महानगरले आवश्यक मर्मतसम्भार, रङरोगन, कार्पेटिङ्, खाटहरु राख्ने, पङ्खा जडान गर्नेलगायतका काम गरिसकेको छ । प्रमुख दाहालका अनुसार शुरुमा ७५ जना त्यहाँ राख्न सकिने छ । यहाँ विस्तार गरेर २०० जनासम्म राख्न सकिने उहाँले जानकारी दिनुभयो ।
भरतपुर महानगरले चिकित्सालयसँग सहकार्य गरेर आइसोलेसन सञ्चालन गर्न लागेको हो । यहाँको मर्मतसम्भार, खाना खर्च सबै महानगरले व्यहोर्ने छ । आन्तरिक व्यवस्थापनसँगै योग, ध्यान, आवश्यक उपचार चिकित्सालयले गर्नेछ ।
महानगररले प्रवक्ता अरुणपीडित भण्डारीको संयोजकत्वमा वडाध्यक्ष, कर्मचारी, चिकित्सक रहेको आइसोलेसन व्यवस्थापन समिति गठन गरिएको छ । आइसोलेसन, आँपटारीबाट देवघाट जाने सडकसँगैको वन क्षेत्रमा छ । दाहालले शान्त, रमणिय ठाउँमा आइसोलेसन भएकाले सङ्क्रमितको बसाइ समय आनन्दमय एवं छिटो निको हुन सहयोगी हुने अपेक्षा गरेको प्रमुख दाहालले बताउनुभयो । प्राकृतिक चिकित्साको माध्यमबाट पहिलो चरणका सङ्क्रमित छिटो निको हुने विश्वास गरिएको छ ।
चिकित्सालयका प्रमुख डा. हेमराज कोइरालाका अनुसार प्राकृतिक खानासँगै नियमित व्यायाम गराइने छ । सामान्य लक्ष्यण देखिएका पहिलो तहका बिरामीलाई सो आइसोलेसनमा राखिन्छ । बिरामीलाई बिहान चार किसिमका फलफूलबाट दिनको शुरुवआत गरी साँझ दूध र बेसारसँगै खानाको अध्याय सकिने उहाँले जानकारी दिनुभयो । फापरको रोटी, उमारेको गेडागुडीका टुसा, अत्याधिक झोलिलो खाना, जेठीमधु, गुर्जो, मरिच, सुठो, पिप्ला, तुलसीको पानी, दाल, भात, तरकारीजस्ता पौष्टिक तत्व प्रशस्त हुने खाना खुवाइन्छ ।
आइसोलेसनमा बस्नेहरुलाई योग, ध्यान प्रशस्त गराइने छ । मनतातो पानी नाकको एउटा प्वालबाट तानेर अर्कोबाट फाल्ने जल नीति, मनतातो पानीले कुल्ला, पानी खाएर उल्टी गर्ने जस्ता विधि प्रयोग गरिने कोइरालाले जानकारी दिनुभयो ।
चिकित्सालयका अध्यक्ष कमल मल्लले प्राकृतिक विधिबाट उपचार गर्दा सङ्क्रमित छिटो निको हुने बताउनुभयो । पुरानो मेडिकल कलेजलाई हटाएपछि सो ठाँउको चार हेक्टर वन क्षेत्रलाई धार्मिक वन क्षेत्र बनाइएको छ । धार्मीक हिसाबले महत्वपूर्ण सो ठाउँमा २०० स्थानीय जातका गाई रहेको गौशाला, २३ जना बालबालिका भएको गुरुकूल, हवन कुण्ड रहेको मल्लले जानकारी दिनुभयो ।
भरतपुर महानगरले नेपालमा सङ्क्रमण देखिए लगत्तै भरतपुर कोरोना अस्थायी अस्पताल स्थापना गरी भरतपुर अस्पताललाई जिम्मा लगाएको थियो । यससँंगै महानगरका २९ वडामा ५० वटा क्वारेन्टिन स्थापना गरी बाहिरबाट आएकाहरुलाई राखेको उपप्रमुख पार्वती शाह ठकुरीले जानकारी दिनुभयो । महानगर क्षेत्रका वासिन्दा सङ्क्रमित भई प्रथम चरणमा रहेकाहरुलाई अहिले तयार गरिएको आइसोलेसनमा राखिने उहाँले जानकारी दिनुभयो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार हाल महानगरका ११ वटा क्वारेन्टिन बाँकी रहेका छन् । ती क्वारेन्टिनमा ३९ जना रहेको उहाँले बताउनुभयो । महानगरको क्वारेन्टिनबाट एक हजार १०६ जनाले सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो । हाल महानगर क्षेत्रभित्र एक हजार २५४ जना घरकै क्वारेन्टिनमा रहेको उहाँको भनाइ छ । घरका एक जनालाई सङ्क्रमण भएमा परिवारका सबैलाई गणना गरी महानगरले निगरानी राख्ने गरेको छ ।
जिल्लाको पूर्वी क्षेत्रमा चार नगरपालिकाले रत्ननगर र माडीले वडा नम्बर ५ मा आइसोलेसन बनाएका छन् । दोस्रो र तेस्रो तहका सङ्क्रमितलाई भने भरतपुर अस्पताल र दुई मेडिकल कलेजमा उपचार गरिने व्यवस्था मिलाइएको छ ।