१४ बैशाख २०८१, शुक्रबार

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, साउन २८ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा साउन २७ गते प्राप्त भएका नमुनामघ्ये ३१० वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा २१ वटा नमुनाको नतिजा पोजेटिभ र २८९ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा चितवनका १६ जना, बाराका १ जना, बैतडीका १ जना, तनहुँका २ जना र रौतहटका १ जना रहेका छन् । चितवन बाहिरका संक्रमित तनहुँ बाहेकका सबै चितवनकै विभिन्न अस्पतालमा उपचाररत छन् । चितवनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकाका व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

चितवनमा कोरोना संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिका-१,३,४,८, १० र ११ का ७ जना पुरुषहरु तथा ५ जना महिलाहरु गरी १२ जना, राप्ती नगरपालिका-६ का ३ जना पुरुषहरु र इच्छाकामना गाउँपालिका-५ का १ जना महिला रहेका छन् ।

भरतपुर महानगरपालिका, भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, पुरानो मेडिकल कलेज, नेशनल सिटी हस्पिटलबाट गरिएको स्वाब परीक्षणमा ७ जना पुरुषहरु र ५ जना महिलाहरु गरी १२ जनामा संक्रमण पुष्टि भएको छ ।

उनीहरु भरतपुरका ६ वर्षीय बालकदेखि ५० वर्ष उमेर समूहका छन् । यस्तै राप्ती नगरपालिका-६ का ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टिनमा रहेका २२ देखि ३० वर्ष उमेरका पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै जिल्लाको एक मात्रै शून्य संक्रमित रहेको इच्छाकामना गाउँपालिकाका एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मौलाकालिका अस्पतालमा उपचाररत इच्छाकामना-५ की ७८ वर्षीया वृद्धमा संक्रमण पुष्टि भएको हो ।

यस्तै भरतपुर अस्पतालमा उपचाररत सिमरा-९ बाराका ४५ वर्षीय पुरुष, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहेका दिलासैनी-३ बैतडीका ४० वर्षीय पुरुष र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार गराइरहेकी रौतहटकी ८ वर्षीया बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !