२१ बैशाख २०८१, शुक्रबार

बाँकेमा थप २० जनामा देखियो कोरोना संक्रमण


भेरी अस्पताल

नेपालगन्ज, साउन २४ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आज शनिबार बाँकेमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बाँकेमा शुक्रबार मात्र ४९ जनामा कोरोना पुष्टि भएको थियो ।

गत २४ घण्टामा ३०० नमुनाको पिसिआर परीक्षण गर्दा आज दिउसो बर्दियाका २ जना र बाँकेका २० जना गरी २२ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल बाँकेले दिएको जानकारी अनुसार नेपालगन्जमा १६ र कोहलपुरमा ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरि तेस्रो पटक जारी निषेधाज्ञा गरेको थियो । यसैबीच समुदाय स्तरमा कोरोना संक्रमण बढ्दै गएको भन्दै शनिबारसम्म जारी निषेधाज्ञा ३ दिन थप गरिएको छ ।

शनिबार राति १२ बजेदेखि प्रशासन कार्यालयले मंगलबार राति १२ बजेसम्मका लागि सुरक्षा, एम्बुलेन्स, शव बाहन, दमकल बाहेकका सम्पूर्ण सवारी साधन, पसल व्यवसाय सञ्चालन र हिँडडुल गर्न निषेध गर्ने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !