१५ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा देउवाले राखेका ७ बुँदे सुझावहरु


शेरबहादुर देउवा

काठमाडौँ, साउन २० । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आज मंगलबार बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७ बुँदे सुझावहरु राखेका छन् । बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले पनि सरकारले सुझाव लिनेमात्रै नभइ काम पनि गर्नुपर्ने धारणा राखेका थिए ।

उनले कोरोना भाइरस महामारीबारे अहिलेसम्म भएका कमीकमजोरी सरकारले समीक्षा गर्नुपर्ने र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता ढाकछोप नगरी छानविन गरेर कारबाही गर्न माग गरेका छन् । कोरोना संक्रमित बढेपछि प्रधानमन्त्रीले दलका नेताहरू तथा विज्ञसँग कुराकानी गरेका थिए। यस्तो छ देउवाले प्रधानमन्त्रीसँग राखेका सुझावहरु :

१. हालसम्मका कमजोरी र प्रगतिको गहिरो समीक्षा गरियोस्। स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप होइन छानबिन र कारवाही गरियोस्।

२. नेपाली कांग्रेसले विगत देखिनै अघि सारेका माग तथा परिवर्तित स्थितिमा निम्न विषय सम्बोधन गरेर युद्धस्तरमा कार्य गर्न बिशेष ध्यानाकर्षण गराउँदछु:

– आरडीटी परिक्षण स्थायी रुपले अन्त्य ।
– सम्पूर्ण रुपले पीसिआर परिक्षण गर्दै एक प्रदेशमा एकलाख नयाँ परिक्षण तत्काल प्रारम्भ गर्ने गरि आवश्यक बन्दोबस्त ।
– स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध । अत्यावश्यक पर्ने औषधि रेमडिसिभरको आयातमा तदारुकता । आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध ।
– मापदण्ड अनुरुप क्वारेन्टाइनहरुको यथाशीघ्र ब्यवस्थापन ।
– विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरि क्वारेन्टाइन र परिक्षण पश्चात् घर पुर्‍याउने ब्यवस्था ।
– नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सीमा नाका सिल ।
– सुरक्षाका लागि मास्क लगाउने अनिवार्यतासँगै चेतनामूलक अभियानमा आम सञ्चार माध्यमको व्यापक प्रयोग ।

३. परिस्थिति अनुरुपका रणनीति निर्माण गर्न विज्ञहरुसँग परामर्श गर्ने क्रमलाई नियमितता दिएर निर्मित रणनीतिको चुस्त कार्यान्वयनका लागि तदारुकता राखियोस् ।

४. विभिन्न दल, संघसंस्था र आम संचार माध्यमका सुझाव नियमित रुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गरियोस् ।

५. उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गरियोस् ।

६. विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गरियोस् ।

७. वर्ग, क्षेत्र र परिस्थिति हेरि राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन ब्यवस्थित ढंगले गरियोस् ।

प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा देउवाले राखेका ७ बुँदे सुझावहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु