२४ बैशाख २०८१, सोमबार

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ८१३ नाघ्यो


कोरोना भाइरस

सुर्खेत, ८ साउन । नेपाल सरकारले गत चैत ११ गतेदेखि घोषणा गरेको बन्दाबन्दी यही साउन ६ गतेराति १२ः०० बजेदेखि खुला गरेपछि नागरिकलाई राहत मिलेको छ । यद्यपि बन्दाबन्दीको राहतमा सरकारले निर्देशन गरेका विषयमा गम्भीर नभएर नागरिकको स्वास्थ्यमा आघात पुग्ने पनि त्यत्तिकै खतरा छ ।

समाजका सबै ठाउँमा कोरोना सङ्क्रमण नियन्त्रण आउन सकेको छैन तर मुलुकका सबै क्षेत्र खुला भइसकेका छन् । कोरोना सङ्क्रमण भने नियन्त्रणमा आएकै छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरडिटी पिसिआर परीक्षणमा बुधबार कालीकोट रास्कोट नगरपालिकाका छ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेख ठाँटीकाँध गाउँपालिका १६ गरी २२ जना कोरोना सङ्क्रमित भेटिए ।

आज पनि दैलेख अस्पतालले गरेको आरटी पिसिआर परीक्षणमा २४ र प्रदेश अस्पताल सुर्खेतमा सुर्खेतका पाँच र सल्यानका एक गरी थप ३० जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारी मिडिया ब्रिफिङद्वारा जानकारी दिनुभयो ।

दैलेखमा २४, सुर्खेतमा पाँच र सल्यानमा एक थपिसँगै आजका दिनसम्म कर्णालीमा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ८१३ पुगेको महाशाखा प्रमुख डा तिवारीले बताउनुभयो । कोरोना सङ्क्रमण पुष्टि भएका ८६ प्रतिशत सङ्क्रमित निको भएर घर फर्के पनि सङ्क्रमण नियन्त्रणमा आउन नसकेको उहाँको भनाइ छ ।

बुधबार दैलेख अस्पतालले सार्वजनिक गरेको आरटी पिसिआर परीक्षणको रिपोर्टअनुसार कोरोना सङ्क्रमण समुदायस्तरसम्म फैलिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना सम्पर्क व्यक्ति थीरप्रसाद रेग्मीले समुदायस्तरमा कोरोना सङ्क्रमण छ वा छैन भनी दैलेख ठाँटीकाँध गाउँपालिकाका ४९ व्यक्तिमा नमूना परीक्षण गरिएकामा १६ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको बताउनुभयो ।

उहाँका अनुसार सङ्क्रमित व्यक्ति उक्त गाउँपालिकाका १–६ वडाका थिए । यो अवस्थालाई नियाल्दा उनीहरु कोरोना प्रभावित क्षेत्रबाट नआएर गाउँकै व्यक्ति भएको जनाइएको छ । यसबाट समुदायका अन्य नागरिकमा कोरोना सङ्क्रमणको आशङ्का बढेको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काले सरकारले बन्दाबन्दी खुला गरिसकेकाले अब नागरिक आफैँ अनुशासित भएर यो रोगबाट बच्नुपर्ने बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !