२१ बैशाख २०८१, शुक्रबार

सप्तरीको राजविराजमा निषेधाज्ञा जारी गर्ने निर्णय


सिल

राजविराज, ७ साउन । राजविराज नगर क्षेत्रमा तीव्रगतिमा कोरोना भाइरसको सङ्क्रमित बढिरहेको भन्दै बिहीबारदेखि राजविराज नगर क्षेत्रमा निषेधज्ञा जारी गर्ने निर्णय गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले कोभिड–१९ सङ्क्रमण तीव्ररुपमा फैलिएपछि राजविराज नगरक्षेत्रमा निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंका अनुसार बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधित अर्को आदेश नआउञ्जेलसम्म राजविराज नगर क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

समितिको आज बसेको बैठकले राजविराज नगरपालिकामा समुदायस्तरमा सङ्क्रमण फैलिन नदिन नगर क्षेत्रभरि सो आदेश जारी गर्ने निर्णय भएको प्रहरी उपरीक्षक प्रसार्इंले जानकारी दिनुभयो । निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन, पसल बन्द रहने उहाँले जानकारी दिनुभयो ।

करिब पाँच दिन अगाडि राजविराजकै वडा नं ६ निवासी ७३ वर्षीय एक प्रतिष्ठित व्यापारीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । मृतकको सम्पर्कमा आएका उनको परिवारका पाँचै जनासहित अन्य मानिस, छरछिमेकमा सङ्क्रमण पुष्टि भएपछि राजविराज नगरपालिकाको आग्रहमा निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रहरी उपरीक्षक प्रसाईंले भन्नुभयो ।

सो बैठकपछि नगरपालिकाद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा पूर्ण लकडाउन अवधिमा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, पसल, उद्योग, यातायात बन्द गर्ने निर्णय भएको उल्लेख छ । स्वास्थ्यसँग सम्बन्धित तथा अन्य अतिआवश्यक सेवा भने सञ्चालन रहने विज्ञप्तिमा जनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार सप्तरी सदरमुकाम राजविराजमा कोरोना सङ्क्रमण समुदायमा पुगेको पुष्टि भएको जनाइएको छ ।

आजमात्रै राजविराजका १३ जनासहित थप १४ जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताउनुभयो । उहाँका अनुसार सङ्क्रमितमध्ये एक जना गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक वार्डका कर्मचारी र एक जना अस्पतालभित्रकै पोषण पुनःस्थापना केन्द्रमा कार्यरत कर्मचारी रहेको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !