असार २५, काठमाडौं । राजधानीमा कोरोना भाइरस संक्रमित पुष्टि भएकोे पाँच महिनापछि उपत्यकामा दिनहुँजसो संक्रमितको ग्राफ बढेको छ। उपत्यकाका तीन जिल्लामा दुई सातायता झन्डै तीन सय संक्रमित फेला परेका छन् ।
हालसम्म कोरोनाबाट मुलुकभर मृत्यु भएका ३५ जनामध्ये उपत्यकाका तीन जना छन्। जसमध्ये ललितपुरका दुई जना र काठमाडौंका एक जना रहेका छन्। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. बासुदेव पाण्डेले केही सातायता काठमाडौंमा संक्रमणको धेरै केस देखिएको बताए। ‘उपत्यकाबाहिर संक्रमणको स्थिति घटिरहेको छ। तर काठमाडौंमा अलि जोखिम देखिएको छ। विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ,’ डा. पाण्डेले भने।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, उपत्यका बाहिर संक्रमित हुनेको संख्या दिनहुँ घटिरहेको छ। आइसोलेसनमा बस्नेहरूको संख्या पनि घट्दो छ। ७७ जिल्लामध्ये तेह्रथुम, भोजपुर, सोलुखुम्बु, हुम्लामा कोरोना संक्रमण मुक्त छन। तर, काठमाडौंमा भने मंगलबार थप २८ जना नयाँ संक्रमित पुष्टि भएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।













