२१ बैशाख २०८१, शुक्रबार

नेपालमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो १२


कोरोना पोजेटिभ

चैत ३०, काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना सक्रमणको पुष्टि भएको छ । वीरगन्जको नारायणी उप- क्षेत्रीय अस्पतालमा उपचाररत ३ जना भारतीय नागरिकमा कोरोना भाइरसको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ । आज आइतवार संक्रमण औपचारिक रुपमा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।

वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडा स्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि काठमाडौंको टेकु अस्पतालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराउदा पुन: पोजेटिभ देखिएको हो । काठमाडौंमा परिक्षणपछि पनि उहाँहरुलाई कोरोना पोजेटिभ भएको पुष्टि भएको हो ।

उनीहरुमध्ये २ जना उत्तर प्रदेशका र एक जना दिल्लीका भएको मन्त्रालय स्रोतले बताएको छ । संक्रमितहरु धर्मगुरु रहेको बुझिएको छ । उनीहरु १३ दिनदेखि वीरगञ्ज-२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् । उनीहरुले आफूहरु ४ महिनादेखि नेपालमा रहेको अस्पतालमा बताएका थिए । स्थानीयहरुले ९/१० दिनअघि मात्र यी धर्म गुरुहरु मस्जिदमा आएको बताएका छन् ।

उनका अनुसार पर्साको बिरगंज महानगरपालिका-२ छपकैयास्थित मस्जिदमा शंकास्पद रूपमा रहेका २१ जनाको परिक्षण गर्दा त्यसमध्ये ३ जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोभिड-१९ को शंका लागि नारायणी अस्पताल, बिरगंजमा आईसोलेशनमा राखी निजहरूको समेत थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परिक्षण गरिएको थियो ।

उक्त परिक्षणमा २१ जनामध्ये शंकास्पद ३ जनाको पोजिटिभ देखिएपछि पुन: एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा २०७६ चैत्र २९, शनिबार पुन: परिक्षण गरिएकोमा त्यहाँबाट समेत पोजिटिभ देखिएको हुँदा नीजहरुको संसर्ग र निजहरू गएको स्थान पहिचान गरी Contact Tracing गर्ने कार्यहरू समेत भईरहेको पनि उनले जानकारी गराएका हुन् ।

यसअघि संक्रमण देखिएका ९ जनामध्य १ जना पहिलो संक्रमित उपचारपछि घर फर्किएका छन् भने ८ जना विभिन्न अस्पतालमा उपचाररत छन् । दोस्रो संक्रमित काठमाडौंकी १९ वर्षीया युवती हुन् । तेस्रो धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्ति, छैटौ पनि बाग्लुङकी बृद्ध महिलामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यी सबै विदेश यात्राबाट हालै फर्किएका हुन् ।

त्यस्तै सातौ संक्रमित भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, आठौ भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र नवै कैलालीकी ३४ वर्षीय महिला हुन् । यी ३ नै जना सुदूरपश्चिमका हुन् ।

यो पनि पढ्नुहोस्

वीरगञ्जमा रहेका ३ जना भारतीय नागरिकमा कोरोना पोजेटिभ पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो ९, सुदूरपश्चिममा आज भेटिए ३ जना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !