१४ बैशाख २०८१, शुक्रबार

सामुदायिक वनका पदाधिकारी चिकित्सकसहित घरघरमा


कञ्चनपुर, १४ चैत । चिकित्सकसहितको टोली परिचालन गरी कृष्णपुर नगरपालिका ६ स्थित सिंहपुर सामुदायिक वनका पदाधिकारी उपभोक्ताको घरघरमा पुगेर कोरोना भाइरसबारे जानकारी दिँदै मास्क र सेनेटाइजर निःशुल्क रुपमा बाँडने कार्यमा संलग्न छन । तीन जनाको तीन समूह बनाई सामुदायिक वनका पदाधिकारीले कोरोना भाइरस सर्ने तरिका र यसबाट बच्ने उपायबारे उपभोक्ताको घरमै पुगेर जानकारी दिन थालेका हुन् ।

भारतलगायत वैदेशिक रोजगारीपछि तेस्रो मुलुक भएर आएका व्यक्तिको तथ्याङ्क लिने कार्यसमेत भइरहेको सामुदायिक वनका कोषाध्यक्ष बाबुराम चौधरीले बताउनुभयो । सामुदायिक वनले स्यानिटाइजरका लागि रु दुई लाख र मास्कका लागि रु ७५ हजार खर्च गरेको छ । मास्क र सेनेटाइजर ४५० परिवारका तीन हजार दुई सय जनालाई बाँड्ने लक्ष्य लिइएको छ । हालसम्म ३५० घरधुरीलाई मास्क र स्यानिटाइजर वितरण गरिएको सामुदायिक वनका अध्यक्ष जोगराम चौधरीले बताउनुभयो ।

यसैगरी कृष्णपुर नगरपालिका २ बंकस्थित झिलमिली सामुदायिक वनले ३५५ उपभोक्तालाई हात धुनका लागि डेटोल साबुन निःशुल्क रुपमा उपलब्ध गराएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !