२१ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमणमा खटिने डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता


कोरोना भाइरस

चैत ४, काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा खटिने डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको नयाँ पत्रिका दैनिकमा समाचार छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपचारमा खटिने अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिइनेछ ।

त्यस्तै, संक्रमण रोकथाम तथा नियन्त्रणसँग सम्बन्धित कार्यमा खटिने निजामती, सुरक्षाकर्मी र नागरिक उड्डयन कार्यालयका कर्मचारीलाई पनि सुरु तलबमानको ५० प्रतिशत भत्ता दिने निर्णय समितिले गरेको छ । संक्रमितको उपचारका लागि स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाभित्र एक सय २० वटा आइसियू बेड अविलम्ब थप्ने निर्णय समितिले गरेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, वीर, पाटन, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र आयुर्वेद अस्पताल कीर्तिपुरमा २०–२० आइसियू बेड थपिने समितिले जनाएको छ ।

त्यस्तै, प्रदेशहरूमा आवश्यकताअनुसार कम्तीमा एक सय १५ वटा आइसियू बेडको व्यवस्था गर्न समितिले निर्देशन दिएको छ । कोरोना संक्रमितको उपचारका लागि खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रलगायत उपत्यकामा रहेका स्वास्थ्य मन्त्रालयले तोकेका विभिन्न अस्पताल तथा भवनमा एक हजार बेडको व्यवस्था मिलाउने निर्णय पनि समितिले गरेको छ । कोरोना भाइरस संक्रमणको उपचारका लागि सरकारले उपत्यकाका ६ अस्पताललाई तोकेको छ । हरेक अस्पतालमा एक सय ५६ स्वास्थ्यकर्मी खटाउने सरकारको तयारी छ ।

टेकु अस्पतालका कर्मचारी प्रशासन शाखा प्रमुख रूपनारायण खतिवडाका अनुसार विषम परिस्थितिसँग जुध्न खटिएका करारका स्वास्थ्यकर्मीलाई तलब स्केलको ७५ प्रतिशत भत्ताको समेत व्यवस्था गरिएको छ । तर, स्थायी रूपमा काम गरिरहेका ल्याब, रेडियोलोजी, नर्सिङ जनशक्तिलाई भने २५ प्रतिशत भत्ता दिइनेछ । उनीहरूले सम्बन्धित अस्पतालबाट नियमित भत्ता पाउँदै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !