२१ बैशाख २०८१, शुक्रबार

कोरोना रोकथामका लागि उच्च सतर्कता अपनाउने बालुवाटार बैठकको निर्णय


कोरोना रोकथामका लागि बालुवाटार बैठक

१७ फागुन, काठमाडौं । छिमेकी राष्ट्र चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कोरिया, युरोप र मध्यपूर्वका देशहरूसम्म देखिएपछि नेपाल सरकारले मुलुकमा रोकथामका लागि उच्च सतर्कता अपाउने निर्णय गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत नेपाललाई उच्च जोखिममा राखेको तथा मुलुकमा बढी आउजाउ हुने चीनबाहेकका अरू देशमा समेत कोरोना भाइरस देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ बालुटारमा मन्त्रीहरूको बैठक बोलाएर उच्च सतर्कता अपनाउने निर्णय गराएका हुन्।

बैठकले कोरोनाको रोकथामको पूर्व तयारी गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको छ। समितिमा गृह, पर्यटन, स्वास्थ्य, अर्थ, शिक्षालगायतका मन्त्री छन्।

समितिले नेपालसँग हवाईसहित यातायात सञ्जालले जोडिएका मुलुकहरूमा संक्रमणको स्थिति नजिकबाट नियाल्ने र रोकथामका लागि आवश्यक निर्णय गर्ने जानकारी बैठकमा सहभागी एक मन्त्रीले दिएका छन्। ती मन्त्रीका अनुसार बैठकमा कोरोना भाइरसको संक्रमण फैलिएका देशमा हवाई उडान रोक्ने विषयमासमेत छलफल भएको थियो। अब समितिले नै यसबारे अध्ययन गरेर आवश्यक परे हवाई उडाउन स्थगित गर्नेसम्मको निर्णय गर्नेछ।

प्रधानमन्त्री ओलीले समितिलाई कोरोना रोकथामका लागि आवश्यक निर्णय गर्ने अख्तियारीसहितको निर्देशन दिएका छन्। प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने हरेक यात्रुको स्वास्थ्य जाँच गर्न र त्यसका लागि आवश्यक चिकित्सक र उपकरणको तत्काल व्यवस्था गर्नसमेत निर्दशन दिएका छन्।

उनले कोरोना भाइरस संक्रमणको परीक्षणका लागि आवश्यक उपकरण, ल्याब, किट तथा औषधिको पर्याप्त भण्डारण गर्नसमेत स्वास्थ्य मन्त्रालयलाई निर्देशनसमेत दिएको जानकारी स्रोतले दिएको छ ।

यो पनि पढ्नुहोस्

कोरोना भाइरसको उच्च जोखिमको सूचीमा राख्यो नेपाललाई विश्व स्वास्थ्य संगठनले


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !