१९ बैशाख २०८१, बुधबार

आजदेखि वीर अस्पतालका ७०० जनरल बेड आम सर्वसाधारणका लागि निःशुल्क


वीर अस्पताल

काठमाडौँ । वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि निःशुल्क गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यकारी परिषद्ले वीरका ७०० वेड सर्वसाधारणका लागि निःशुल्क गर्ने निर्णय गरेको हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजदेखि बिरामीका लागि ७०० साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए ।

उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा निःशुल्क शय्याको व्यवस्था गरिएको बताए । उनका अनुसार अस्पतालले ७०० साधारण शय्या निःशुल्क गरिएको हो ।

मन्त्रालयको पहलमा शय्यावापत आउने पैसाको सोधभर्ना गर्नेगरी सर्वसधारणका लागि निःशुल्क गरिएको निर्देशक डा. पौडेलले जानकारी दिए । यसअघि प्रतिदिन २०० शय्यामा शुल्क लाग्ने गरेको थियो । अस्पतालमा क्याविन, सघन उपचारकक्ष (आइसीयू) गरी ९६० शय्या रहेका छन् ।

यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै वीर अस्पताल गरिबका लागि भन्दै उक्त निर्णय गरिएको बताए । मन्त्री बस्नेतले अबदेखि कोही पनि विरामीले बेडका लागि पैसा तिर्नु नपर्ने बताए ।

बेड निःशुल्क गर्दा वीर अस्पताललाई वार्षिक ५ करोड भन्दा बढी रकम व्यवस्थापन गर्नुपर्ने देखिएको उक्त रकम सरकार र आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने मन्त्री बस्नेतले बताए । अस्पतालको क्याबिन र आईसीयूमा भने शुल्क लाग्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !