२२ बैशाख २०८१, शनिबार

जनस्वास्थ्यको क्षेत्रमा धेरै ठूलो फड्को हान्ने सम्भावना छ : प्रचण्ड


प्रचण्ड पोखरामा शुक्रबारदेखि सुरु भएको अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर ः राधिका कँडेल, रासस

कास्की । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता, राष्ट्र र सामाजिक क्षेत्रको जीवनप्रति स्वास्थ्य क्षेत्र संवेदनशील रहेको बताएका छन् ।

पार्टी निकट अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घको आजदेखि पोखरामा सुरु भएको दुई दिने प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले विज्ञान र प्रविधिको विकासँगै स्वास्थ्य क्षेत्रमा पनि नयाँ नयाँ प्रविधिको विकास भएकाले जनस्वास्थ्यको क्षेत्रमा धेरै ठूलो फड्को हान्ने सम्भावना प्रबल बनेको उल्लेख गरे ।

उनले पूँजीवादले स्वास्थ्य क्षेत्रलाई व्यापारको विषय बनाउने र जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने प्रवृत्ति कायमै रहेको उल्लेख गरे । अध्यक्ष दाहालले भने, “समाजमा विद्यमान बढ्दो अन्तरविरोधले स्वास्थ्य क्षेत्र पनि पूँजीवाद र समाजवादको बीचको लडाइँको क्षेत्र बनिरहेको छ ।”

स्वास्थ्यमा भएको प्रगति, यस क्षेत्रमा भएको नयाँ नयाँ प्रयोग र आविष्कारले जनस्वास्थ्यमा गुणात्मक प्रगतिको सम्भावना रहेको पनि उनले औँल्याए । जनस्वास्थ्यकर्मी महासङ्घ तथा यससँग सम्बन्धित सबै घटक सङ्गठन जिम्मेवार बनेर जनस्वास्थ्यलाई सुलभ, सहज भरपर्दो बनाउने र जनतामा जनचेतना फैलाउने दायित्व राम्रोसँग निभाउनुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष दाहालले भने, “पूँजीवादी विकृति स्वास्थ्य क्षेत्रमा नराम्रोसँग प्रवेश गरेको छ । जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने क्रियाकलाप अहिले पनि कायमै छ । पूँजीवादी विकृतिलाई नियन्त्रण, विरोध र भण्डाफोर गर्ने दायित्य पनि प्रगतिशील सङगठनको काँधमा छ ।”

उनले दोस्रो पटक प्रधानमन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा सुधारको निम्ति स्वास्थ्य बीमासम्बन्धी नयाँ नीति ल्याएर लागू गरे पनि चाहेअनुसार अहिले अगाडि बढ्न नसकेको बताए । “स्वास्थ्य बीमा स्वास्थ्य क्षेत्र र जनताका लागि महत्वपूर्ण छ । यसलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन नगरिए विकृति र विसङ्गति आउने छ, हाम्रो ध्यान त्यसमा जानु पर्दछ”, अध्यक्ष दाहालले भने ।

उनले स्वास्थ्य क्षेत्रबाट जनतामा चेतना अभिवृद्धि र जागरण ल्याउन महाधिवेशनले ठोस सुझाव दिने र पार्टीसमेत त्यसबाट लाभान्वित हुने विश्वास गरे । नयाँ संविधान निर्माणपछि शिक्षा, स्वास्थ्य र रोजगारीलाई जनताको मौलिक अधिकारका रूपमा परिभाषित गरिए पनि उपयुक्त कानून बन्न नसक्दा कार्यान्वनमा चुनौती देखिएको अध्यक्ष दाहालको भनाइ छ ।

महाधिवेशनमा देशैभरिबाट गरी पाँच सय प्रतिनिधि र ७५ पर्यवेक्षक गरी ५७५ जना प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको महासङ्घका अध्यक्ष डा. कृष्णसागर पौडेलले जानकारी दिए । महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने बताइन्छ ।

स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय, समाजवादोन्मुख स्वास्थ्य नीति, स्वास्थ्य क्षेत्रको विकास एवं स्वास्थ्यकर्मीका पेशागत अधिकारबारे महाधिवशेनमा गहन छलफल गरी कार्यान्वयनका लागि सबल र सक्षम नेतृत्व चयन गरिने अध्यक्ष पौडेलले बताए ।

विसं २०६३ मा स्थापना भएको सङ्गठन विसं २०६५ मा महासङ्घमा परिर्वतन हुँदै आफ्ना कार्यक्रम अगाडि बढाइरहेको र महासङ्घमा देशभर गरी ५० हजार सङ्गठित सदस्य आबद्ध रहेको महासङ्घका नेता सागर लुइँटेलले जानकारी दिए ।

नेपाल सरकारको कार्यालयमा आबद्ध स्वास्थ्य स्वयंसेविकादेखि १२ तहका स्वास्थ्यकर्मीसम्म, प्राविधिक शिक्षा लिएका स्वास्थ्यकर्मीदेखि उच्चपदस्थ प्राध्यापकसम्म विभिन्न स्वास्थ्य व्यवसाय गर्ने स्वास्थ्यव्यवसायीदेखि औषधि उत्पादन गर्नेसम्म महासङ्घमा आबद्ध रहेको केन्द्रीय उपाध्यक्ष शिव केसीले जानकारी दिए ।

देशभर व्यक्तिगतरूपमा स्वास्थ्य पेशामार्फत जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलगायत सशस्त्र युद्धको बेला युद्धमोर्चामा सामेल स्वास्थ्यकर्मीसमेत यस महासङ्घमा आबद्ध छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !