२१ बैशाख २०८१, शुक्रबार

घरदैलोमै स्वास्थ्य सेवा


health

टीकापुर, २१ कात्तिक । टीकापुर–७ पदमपुरकी जेष्ठ नागरिक सेती चौधरीलाई ज्वरो आएर घरमै सुतीरहनु भएको थियो । कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमै फैलेकाले सेतीलाई अस्पतालसम्म जान डर लाग्यो । ज्वरो बढ्दै गएपछि उहाँले वडा कार्यालयले समुदायमै खटाएकी स्वास्थ्यकर्मी शान्ती ढुङ्गाना नेपालीलाई फोन गर्नुभयो । स्वास्थ्यकर्मी नेपाली घरमै गएर जाँच गरेर औषधि दिएर आउनुभयो । सेतीलाई सञ्चो भयो ।

“कोरोना महामारीको डरका बेला घरमै स्वास्थ्यकर्मी नानी आउनुभयो”, सेतीले भन्नुभयो, “मैले घरमै सेवा पाए । म त निकै खुशी छु । सञ्चो पनि भयो । सरकारले राम्रो काम गरेको रहेछ ।” सेतीजस्तै प्रतिपुरकी निरु गिरीलाई पनि रुघाखोकीको समस्या भयो । उहाँले पनि शान्तिलाई फोन गर्नुभयो । शान्तिले घरमै गएर उपचार सेवा दिएपछि उहाँ पनि निको हुनुभयो ।

कोरोना सङ्क्रमणको जोखिमका बेला स्वास्थ्य संस्था जान नसकेको अवस्थामा घरमै सेवा पाउँदा गिरी पनि खुशी हुनुहुन्छ । वडा कार्यालयले जेष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भएकाका लागि शुरु गरेको घरदैलो स्वास्थ्य सेवाबाट अहिलेसम्म ३५० जनाले सेवा पाइसकेका छन् । चालु आर्थिक वर्षको साउनदेखि शुरु भएको यो सेवाबाट हिटडुल गर्न नसक्नेलाई राहत भएको छ ।

स्वास्थ्यकर्मी नेपाली अस्पताल आउन नसक्ने समस्या भएकाले फोन गर्दा पनि सेवादिइरहेको बताउनुहुन्छ । “घरमै गएर सेवा दिँदा जेष्ठ नागरिक खुशी भएका छन्”, नेपालीले भन्नुभयो, “हिड्न नसक्नेलाई सहज भएको छ । सामान्य समस्या भएकालाई औषधि दिएर आउँछु । जटिल समस्या भएकालाई अस्पताल लैजान सल्लाह दिन्छु ।” अहेब नेपालीले उपचार सेवा दिँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर उपचार गरिरहेको बताउनुभयो ।

“गाउँमा जेष्ठ नागरिक र बालबालिकालाई अस्पतालसम्म लैजान कठिन हुने बेला घरमै सेवा पाउँदा खुशी हुनुभएको छ”, नेपालीले भन्नुभयो, “समुदायमा मेरो नं बाँडिएको छ । उनीहरु फोन गर्छन् म जान्छु ।” नेपाली जेष्ठ नागरिकको घरमा भने पालो मिलाएर आफैँ जाने गर्नुहुन्छ ।
टीकापुर–७ का वडाध्यक्ष रामलाल डगौरा थारु जेष्ठ नागरिकलाई सहज उपचार सेवाका लागि यो सेवा शुरु गरेको बताउनुहुन्छ । “जेष्ठ नागरिकलाई अस्पतालसम्म आउन र ल्याउन कठिन हुन्छ, उनीहरुको नियमित जाँच गनुर््पर्ने हुन्छ”, थारुले भन्नुभयो, “त्यसैले हामीले यो कार्यक्रम राखेका हौँ । अहिले राम्रो भएको छ । यो महामारीको समयमा धेरैले राहत महसुस गरेका छन् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !