२४ बैशाख २०८१, सोमबार

यस्ता छन् सुत्केरी हुने डर अर्थात् टोकोफोबिया


pregnam

‘मलाई आफ्नो पेटमा बाहिरको कुनै कुरा पस्ला भनेर डर लाग्छ,’ भन्छिन् टोकोफोबियासँग संघर्षरत २६ वर्षकी सामन्ता । टोकोफोबियाग्रस्त महिलाहरूलाई गर्भधारण र सुत्केरी हुन अर्थात् सन्तान जन्माउनबाट अत्यन्त डराउँछन् । विशेषज्ञहरूका अनुसार विश्वभर करिब १४ प्रतिशत महिला टोकोफोबियाबाट पीडित छन् । सामन्ता भन्छिन्, ‘मेरो मस्तिष्कमा सधैं गर्भवती हुन्छु कि भनेर डर रहिरहन्छ । कुनै गर्भवती देखें भने आत्तिन्छु । यहाँसम्म कि गर्भधारण र सन्तान जन्माउने कुरा सुन्दाखेरि नै मलाई चिटचिट पसिना आउँछ र मेरो जिउ थरथर काम्न थाल्छ ।’

बालबालिकाका लागि काम गर्ने संस्था टमीका अनुसार अधिकांश महिला गर्भधारण गर्ने कुराले आत्तिन्छन् र यो सामान्य हो । तर टोकोफोबिया यस्तो सामान्य आत्तिनुभन्दा बिल्कुलै फरक हुन्छ ।’रेना यस्ता टोकोफोबियाग्रस्त महिलालाई सघाउने काम गर्छिन् । उनले भनिन्, ‘टोकोफोबियापीडित महिला गर्भधारण नगर्न कुनै पनि सीमासम्म जान सक्छन् । उनीहरू आमा बन्नबाट यति धेरै तर्सन्छन् कि गर्भपातसमेत गराउँछन् ।’ सामन्ता पनि हरेक साता उपचार गराउन जान्छिन् । तर उनलाई आफ्नो परिवार, आफनत र साथीभाइ कसैले पनि आफूलाई बुझ्न नसकेकोजस्तो लाग्छ । उनले भनिन्, ‘उनीहरू भन्छन्, यो कुनै तर्सिइहाल्नुपर्ने ठूलो कुरा होइन, म अलि बढी नै ओभररिएक्ट गरिरहेकी छु ।’

सामन्ताका पतिलाई भने सन्तान खेलाउने चाहना छ । उनी भन्छिन्, ‘मैले आफ्नो डर हटाउन र गर्भनिरोधक औषधि नखान अनेकौं प्रयास गरें तर केही लागेन । गर्भ रहने डरले अब त म पतिसँग सँगै सुत्न समेत तर्सन्छु ।’ उनले गर्भवती नहुन कैयौंपल्ट पतिसँग लुकाएर औषधि खाउँ कि भनेर सोचेको पनि बताइन् । ‘कसैले मेरो पेटमा सास फेर्न, हातखुट्टा चलाएको र हुर्केको अनुभूति गर्न म तयार छैन,’ भन्छिन् उनी, ‘मलाई आफ्नो शरीरमाथि विश्वास छैन । मलाई थाहा छैन, मेरो मस्तिष्कमा यो डर कसरी पस्यो ?’

मिडवाइफ सोफी किङ पहिलेको तुलनामा गर्भवती हुन डराउने महिलाको संख्या हिजोआज धेरै भएको बताउँछिन् । ‘यसको एउटा कारण टोकोफोयिबा कहीं न कहीं एन्जाइटी डिस्अर्डरसँग गाँसिएको छ,’ उनले भनिन्, ‘र अहिले धेरै मानिस एन्जाइटी डिस्अर्डरग्रस्त छन् ।’ ३३ वर्षीया लाउराले पनि टोकोफोबियाबाट मुक्ति पाउन उपचार गरेको बताइन् । ‘सामान्यतया फिल्म र टेलिभिजनमा सुत्केरी भएको ठीक तरिकाले देखाइँदैन,’ उनले भनिन्, ‘मेरी एक जना साथीलाई ६ दिनसम्म सुत्केरी बेथा लागेको र बच्चा जन्मदा आफू दुई टुक्रा भएको अनुभूति भएको बताइयो । यी सब कुरा सुनेर मेरो मनमा गर्भधारण र सुत्केरीबारे गहिरो डर बस्यो ।’

सोफीले टोकोफोबिया पनि दुई किसिमको हुने बताइन् । एउटा त्यस्ता महिलालाई जो गर्भवती भएका छैनन् र अर्को पहिले सुत्केरी भइसकेका वा बच्चा जन्माइसकेका महिलालाई हुने टोकोफोबिया । महिलालाई टोकोफोबिया अतितमा उनीहरूमाथि भएको शोषण, मानसिक उत्पीडन वा कुनै खराब अनुभवका कारण हुनसक्ने सोफी बताउँछिन् ।
विगतमा टोकोफोबियाग्रस्त एलेक्सिया भने अहिले अरु महिलाहरूलाई टोकोफोबियाबारे विभिनन जानकारी दिन्छिन् ।

‘सुत्केरी वा बच्चाको जन्मबारे सकारात्मक समाचार आउँदैनन्,’ उनले भनिन्, ‘त्यसैले म मिडियासँग सकारात्मक समाचार छाप्न, प्रसारण गर्न अघि सर्नुहोस् भन्छु ।’ २८ वर्षीया बेकीले भने टोकोफोबियाबाट पीडित महिलाहरूलाई सहायता गर्न सपोर्ट ग्रुप चाहिने सुझाव दिइन् । गर्भधारण र सुत्केरी हुनु महिलाका लागि सामान्य हो र सुरक्षित रुपमा सुत्केरी हुन सकिन्छ भनेर बताउनु पर्छ भन्छिन् उनी ।(बिबिसी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !