२२ बैशाख २०८१, शनिबार

मिर्गौला संक्रमण हुने कारण, यसवाट कसरी बच्ने ?


kidni

मिर्गौलाको संक्रमण निकै पीडादायी रोग हो, जो मूत्राशय (ब्लाडर) को संक्रमण सिस्टाइटिसका कारण हुन्छ । अधिकांश मानिसमा सिस्टाइटिसबाट मिर्गौलाको संक्रमण हुँदैन । तर, कहिलेकाहीँ ब्याक्टेरिया ब्लाडरबाट एक या दुवै मिर्गौलासम्म पुग्न सक्छन् । तत्कालै रोग पहिचान गरेर एन्टिबायोटिकले उपचार गरेमा मिर्गौलाको संक्रमण गम्भीर हुँदैन । तर, समयमै उपचार गरिएन भने अवस्था खराब हुँदै गएर मिर्गौला बिग्रने सम्भावना हुन्छ ।

लक्षणहरु :

मिर्गौला संक्रमणको लक्षण कहिलेकाहीँ केही घन्टामै देखिन सक्छ । यस्तो अवस्थामा उच्च ज्वरो आउने, कम्पन हुने र पछाडि या साइडमा पीडा हुने हुन्छ ।

साथै सिस्टाइटिसजस्ता युरिनरी ट्रयाक्ट इन्फेक्सन (युटिआई) का लक्षण पनि देखिन्छ। तिनका लक्षणहरु निम्न छन्ः

  • अचानक पिसाब लाग्ने र सामान्यभन्दा बढी पिसाब हुने,
  •  पिसाब गर्दा पीडा हुने र पोल्ने,
  • गन्हाउने या बाक्लो पिसाब हुने,
  • पिसाब रगत देखिने, आदि ।

यसरी कम्मरमा या यौनांगमा पीडा भएमा या युटिआईको लक्षण केही दिनमा पनि सुधार नदेखिएमा र पिसाबमा रगत देखिएमा तत्काल चिकित्सकलाई देखाइहाल्नुपर्छ ।

मिर्गौलाको संक्रमण पहिचान हुनेबित्तिकै क्षति हुनबाट जोगाउन र रगतमा फैलन नदिन एन्टिबायोटिक लिन थाल्नुपर्छ । यसका साथै पेनकिलर पनि लिनुपर्ने हुन सक्छ । यदि लामो समयदेखि समस्या छ र विशेषगरी गर्भवती महिला छन् भने अस्पताल नै भर्ना हुनुपर्ने अवस्था आउन सक्छ । एन्टिबायोटिक लिन थालेको दुई सातापछि बिरामीले सुधार महसुस गर्नुपर्छ ।

कारण

‘इ कोली’ नामक ब्याक्टेरिया पिसाब बग्ने ट्युबमा पुगेपछि मिर्गौलाको संक्रमण हुन्छ । ब्याक्टेरिया ब्लाडरसम्म पुगेर सिस्टाइटिस हुन्छ र मिर्गौलासम्म पनि पुग्न सक्छ । इ कोली दिसा गर्ने अंगमा हुन्छ र त्यहाँ रहँदा कुनै असर पुर्‍याउँदैंन । तर यौन सम्पर्कका दौरान या दिसा पुछ्दा या धुँदा मूत्रमार्गमा पुग्न सक्छ ।

मिर्गौलाको संक्रमण हुने अरु पनि कारणहरु 

मुत्राशयको संक्रमणबिना पनि मिर्गौलाको संक्रमण हुन सक्छ । यदि मिर्गौलाको पत्थरी छ, मधुमेह छ या रोग प्रतिरोधी क्षमता कमजोर छ भने पनि मिर्गौलाको  सक्रमण हुन सक्छ ।
मिर्गौलाको संक्रमण कुनै पनि उमेर समूहका मानिसलाई हुन सक्छ । यद्यपि विशेषगरी महिलाहरु यसबाट बढी प्रभावित हुन्छन् । किनभने, महिलाको दिसा गर्ने अंग र युरेथ्रा नजिकै हुन्छ र ब्याक्टेरिया सजिलै मुत्रमार्गमा प्रवेश गर्ने सम्भावना रहन्छ । अझ यौनका हिसाबले बढी सक्रिय हुने उमेरका युवतीहरु बढी जोखिममा हुन्छन् ।

कसरी रोक्ने ? 

मिर्गौलाको संक्रमण हुन नदिन युरेथ्रा र पिसाबथैलीलाई ब्याक्टेरियारहित बनाउनुपर्छ । जसका लागि निम्न उपायहरु अपनाउन सकिन्छः

  • तरल पदार्थ बढीभन्दा बढी पिउने, सादा पानी पिउनु सबैभन्दा राम्रो हुन्छ,
  • पिसाब लाग्नेबित्तिकै पिसाब गरिहाल्नुपर्छ, धेरैबेर रोक्नुहुन्न,
  • यौन सम्पर्कपछि पिसाब गर्नुपर्छ,
  • दिसा गरेपछि अगाडिबाट पनि पछाडिकै हिसाबले सफा गर्नुपर्छ,
  • हरेक दिन यौनाङ्ग धुनुपर्छ, सम्भव भएसम्म यौनसम्पर्क अगाडि यौनाङ्ग सफा गर्नुपर्छ,
  • कब्जियत हुन नदिने, कब्जियतले पनि युटिआई गराउँछ, आदि ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !