११ बैशाख २०८१, मंगलबार

नेकपा एमालेमा तेस्रो धारको जन्म, भावी रणनीति बनाउँदै


भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे

काठमाडौँ । लामो रस्साकस्सी पछि अन्तत: नेकपा (एमाले) फुटेको छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

नेपाल समुह विभाजन भएर बनेको नयाँ पार्टीको नाम ‘नेकपा एमाले समाजवादी’ राखिएको छ भने चुनाव चिन्ह ‘खुला किताब’ राखिएतापनि चुनाव चिन्ह यसअघि नै दर्ता भइसकेको पार्टीसँग मिलेपछि निर्वाचन आयोगमा लफडा भएको छ ।

नवगठित पार्टी नेकपा एमाले समाजवादीका अध्यक्ष माधव नेपाल रहेका छन् भने झलनाथ खनाल बरिष्ठ नेता रहने भएका छन् । नयाँ पार्टीमा ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । जसअनुसार साविक एमालेका ५८ जना केन्द्रीय सदस्य नयाँ पार्टीमा समेटिएका छन् ।

नेपालले नयाँ दल दर्ताको निवेदन दिएसंगै ओली र नेपालको लगभग ५ दशकको ‘मायापिरती’ पारपाचुकेमा टुंगिएको छ । लगभग ६ महिना अघि नेपालले आफू पार्टीका अध्यक्ष ओलीसँग आफ्नो ‘मायापिरती’ ४८-४९ वर्ष पुरानो भएको भन्दै सजिलै नछुट्टिने वा नतोडिने बताएका थिए ।

नेकपाका महासचीव भई सकेका पूर्वप्रधानमन्त्री नेपाल र अहिलेका नेकपाका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री ओली वीचको माया-पिरती टुंगिएसंगै अनिर्णयको बन्दी भएको पार्टीले नयाँ स्वरुप पाएको छ । यद्यपि नेकपाका नेता-कार्यकर्ताहरु ओली र नेपालको व्यक्तिगत महत्वाकांक्षा र शक्ति संघर्षले पार्टी विभाजन भएकोमा वाक्क-दिक्क भएर उनीहरुमा निराशाको कालो बादल छाएको छ ।

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेर केही गर्न नसकिने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विद्रोह गरेर नेता नेपालले नेकपा एमाले (समाजवादी) पार्टी दर्ताको निवेदन दिएपछि गौतमले आफ्नो क्लियर गर्ने संकेत गरेका हुन्‌ । यसअघि गौतमलाई एमालेमा तेस्रो धारको रुपमा हेरिदै आएको थियो ।

नेकपा (एमाले) का नेता प्रदीप नेपालले आफू माधवकुमार नेपालको मान्छे भएको स्पष्ट पारेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विद्रोह गरेर नेता नेपालले नेकपा एमाले (समाजवादी) पार्टी दर्ताको निवेदन दिएपछि उनले आफ्नो कित्ता प्रष्ट पारेका हुन्‌ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटेको नभई टुक्रिएको मात्र बताएका छन् । हिजो बिहीबार नेपाल न्यूज एजेन्सीसँग कुरा गर्दै ओलीले नेपाल चोइटिएर गएपछि केही मानिस मात्र अलग भएको स्पष्ट पारेका थिए ।

यता लामो समयदेखि माधव नेपाललाई साथ दिंदै आएका केही नेताहरुले उनको साथ छोडेको बताएका छन् । औपचारिक रुपमै विभाजनको संघारमा पुगिसकेको एमालेमा हिजो बिहीबारदेखि तेस्रो धारको जन्म भएको छ ।

नेपालले निर्वाचन आयोगमा अस्ति बुधबार नेकपा एमाले (समाजवादी) पार्टी दर्ताको लागि निवेदन दिएपछि उनको साथ छोडेका तर ओली समूहमा पनि लाग्न नसकेका मध्यमार्गी नेताहरुले एमालेमा तेस्रो धार जन्माएका हुन् ।

तेस्रो धारको रुपमा देखिएका नेताहरुमा भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे रहेका छन् । अध्यक्ष ओलीले आफ्ना समूहका मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा गर्न लगाएर अहिले तेस्रो धारमा रहेकी अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाईसकेका छन् ।

तेस्रो धारका ९ जना नेताहरुले हिजो विहीबार राति अबेरसम्म बैठक गरेर प्रेस विज्ञप्तिमार्फत आफ्नो अवस्था क्लियर गरेका हुन् । उनीहरुले शुक्रबार आफ्नो समूहका केन्द्रीय सदस्यहरुसँग थप छलफल गरेर लाइन स्पष्ट पार्ने निर्णय समेत गरेका छन् ।

एमालेको अर्को शक्तिको रुपमा आफ्नो धारलाई प्रमाणित गर्न लागेका तेस्रो धारका नेताहरू भावी रणनीति बनाउन जुटेर आज शुक्रबार काठमाडौँमा भएका नेताहरुबीच बैठकको आयोजना गरेका छन् । छलफलमा पहिला माधव नेपाल पक्षमा लागेका तर पार्टी विभाजनपछि कतै पनि नलागेका स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरू सहभागी हुन अनुरोध गरिएको छ ।

नेपालका कम्युनिस्ट पार्टीको जुट र फुट शृंखला लामो छ । नेपालमा राजनीतिक दल विभाजन हुने रोग नयाँ भने होइन तर यसले पार्ने दीर्घकालीन असर भने विडम्बनापूर्ण रहेको तीतो यथार्थ हामीले स्मरण गर्न सक्छौ । पार्टी फुट्दा कस्तो हालत हुन्छ भन्ने हेर्न सिपी मैनाली, मोहन वैद्य र बाबुराम भट्टराईलाई हेरे मात्र पुग्छ ।

नेकपा एमाले फुटेपछि यो पार्टीका नेताले अव पहिलाको एमालेमा फर्कन वर्षौवर्ष लाग्न सक्छ । एमाले कम्जोर भईसकेको छ, यो पार्टीमा रहेका र नेपालको पार्टीका गएका कैयौ नेताहरुको जमानत जफत हुनेछ । पार्टीका नेता-कार्यकर्ताहरु निराश भएर नेपाली काँग्रेसमा भटाभट भोटै हाल्ले स्थिति नआउला भन्न सकिदैन ।

पहिला २०५४ सालमा पनि बामदेव गौतमले एमाले फुटाएर माले बनाएका थिए । २०५६ सालको आम निर्वाचनमा एक सीट पनि जित्न नसकेपछि २०५८ सालमा पुनः एमाले पार्टी एकीकृत भएको थियो । त्यो वेला मालेमा लागेका नेताहरू एमालेमा फर्किए पनि कार्यकर्ताको ठूलो पंक्ति माओवादीमा लागेको थियो ।

देश निर्माणका लागि भनेर जनतालाई सपना देखाएर वाचा-बन्धन खाएका ऐतिहासिक पृष्ठभूमि बोकेका राजनीतिक दलहरूको शीर्ष नेताहरुको व्यक्तिगत महत्वाकांक्षा र शक्ति संघर्षले पार्टीको आन्तरिक विवादको प्रमुख कारण विभाजन हुनु जनताको भरोसाका कुठाराघात गर्नु हो ।

लोकतन्त्रमा एउटा विचार समूहले आफ्नो सोच र अवधारणालाई नागरिक समक्ष प्रस्तुत गर्न राजनीतिक दलको स्थापना गर्नु वा विभाजन गरेर अर्को दल निर्माण गर्नु स्वाभाविक भएतापनि सत्ताको मोह र व्यक्तिगत स्वार्थ पूर्ति गरकै लागि दलहरू विभाजन हुनु नेपाली जनताको लागि बिडम्वनाको कुरा हो ।

देश र जनतालाई केन्द्रमा राख्न सक्नुपर्नेमा नेताले आफूलाई केन्द्रमा राखेर राजनीति गर्ने नेपाली राजनीतिक दलका नेताको कारण ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने विकासको दूरदर्शी भिजन ल्याएको पार्टी नै ३ चिरामा विभक्त हुनु भनेको सरासर नेपाली जनतालाई धोका दिनु हो ।

अहिले नेकपा एमालेका नेताहरुले ‘आफ्नै घरमा आगो लगाएर’ खरानी बनाइरहेका छन् । जलेको पार्टीलाई पुन:निर्माण गर्न वर्षौ लाग्न सक्छ । नेपाल समूह ‘आफ्नै खुट्टामा बन्चरो’ हानेर विपक्षी दल काँग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाएर घिनलाग्दो खेलमा लागेका छन् भने पार्टी अध्यक्ष ओलीले पनि केही विषयमा नझुकी पार्टीको आन्तरिक विवाद आपसी समझदारीवाट नमिलाएको कारण पार्टी विभाजन हुनपुग्यो ।

एमाले विभाजन भएपछि ‘भाई फुटे, गवार लुटे’ भनेझैँ एमालेको अस्तित्व त संकटमा नै पर्ने निश्चित छ तर नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा ठूलो चिट्ठा पर्ने देखिन्छ । आफ्नो व्यक्तिगत स्वार्थपूर्ति र सत्तामोहले दुई तिहाईको सरकार नेपालका कम्युनिष्ट पार्टीहरुलाई ‘बाँदरको हातमा नरिवल’ जस्तै बनाए ।

उनीहरुले नागरिकले दिएको यत्रो ठूलो अभिमतको उपेक्षा गरेकोले भविष्यमा उनीहरु त राजनीतिक रुपमा नांगिने नै छन् तर आम नेपाली नागरिकको दु:खको दिन कहिले नै अन्त्य नहुने देखिएकोले नेपालको राजनीति ठुलो अध्यारो सुरुङतर्फ धकेलिने संकेत देखिएको छ ।

नेपालका राजनीतिक दलका अधिकांश नेताहरुमा कुनै राजनीतिक नैतिकता देखिदैन । नेपाली जनताको आँखामा छारो हानेर भ्रम सिर्जना गर्ने गरेका सवै राजनीतिक दलका नेताहरुको खोपडीमा सद्वुद्धि कहिले आउने हो ? शक्ति र सत्तामा पाउँदा त्यसकै जयजयकार गाउने सत्ता नपाउँदा त्यसकै चर्को आलोचक हुने नेपाली नेताहरुको पुरानै आनीबानी रहेको समेत राजनीतिक विश्लेषकको विचार रहेको छ ।

राजनीतिक दलका नेताहरुको व्यक्तिगत स्वार्थपूर्ति, सत्ता र शक्तिको होडबाजी गर्ने घिनलाग्दो हर्कत धेरै टिक्ने देखिदैन किनकी बागमतीमा धेरै पानी बगिसकेको छ । आम नेपाली जनता धेरै शिक्षित र सचेत भईसकेका छन् । राजनीतिक दलका सवै नेताहरुले देखाइरहेको सत्ता मोहले आम नेपाली जनता वाक्कदिक्क भई सकेका छन् ।

विश्वमा अस्ताउदो अवस्थामा रहेको कम्युनिष्ट शक्तिको बर्चस्वलाई नेपाली जनताले ठूलो आशा र भरोशा गरेर फेरि उदाउँदो अवस्थामा ल्याइदिएका थिए । ‘विनाश काले विपरीत बुद्धि’ भनेझै अहिले नेकपा एमालेका नेताहरुले ‘आफ्नै घरमा आगो लगाएर’ खरानी बनाई अरुको घरमा भीख माग्दै हिडेका छन् । व्यक्तिगत शक्ति संघर्ष र सत्ता मोहको जालमा फसेर यिनीहरुले एमालेको विनाशको बाटोतिर लागिरहेका छन् ।

नेकपाका यी दुवै समूहले आफ्नै घरमा आगो लगाएर के अभिष्ट प्राप्त गर्न खोजिरहेको छ ? यो प्रश्न आम एमालेका कार्यकर्ताको मनमा उब्जिरहेको छ । नेकपाका यी दुवै समूहको स्थिति भोलि सिपि मैनाली र मोहन बैद्य जस्तो किनारा लागेर जाने त होइन भन्ने विश्लेषण गर्न सकिन्छ । राम राम भन्न मात्र सकिन्छ काँध थाम्न सकिदैन । एमालेका सवै यी शीर्ष नेताहरुको बेलैमा सद्बुद्धि आओस् भन्ने कामना मात्र गरौ ।

अध्यक्षले पार्टी तानाशाही व्यवहार गरेपनि पार्टीमा आन्तरिक लोकतन्त्रको बैकल्पिक प्रयोगद्वारा अर्को महाधिवेशनसम्म पार्टीभित्रको निरंकुश प्रवृत्तिसित लड्नु नै उत्तम बिकल्प हो । देशको लागि व्यक्ति नभई पार्टी र सङ्गठन ठूलो र शक्तिशाली हुनु आजको आवश्यकता हो ।

यो पनि पढ्नुहोस्

नेपालले नयाँ पार्टी खोलेपछि ओलीले भने- एमाले फुटेको होइन, टुक्रिएको हो

कित्ता क्लियर गर्दै बामदेवले भने- अब ओलीको पक्षमा लागेर केही गर्न सकिदैन

प्रदीप नेपालले भने- म माधव नेपालको मान्छे हुँ

नेकपा एमाले समाजवादीमा झलनाथ खनाल वरिष्ठ नेता, ९५ सदस्यीय केन्द्रीय कमिटी

अन्तत: फुट्यो एमाले, दल दर्ताको लागि नेपालले दिए आयोगमा निवेदन

नेपाल भन्छन्, ‘केपी ओलीसँग ४९ वर्षको माया-पिरती छ’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !