२० बैशाख २०८१, बिहिबार

सरकारको आग्रह : दशैंमा काठमाडौं छोडेर गाउँ नजाउँ


प्रदीप ज्ञवाली

काठमाडौँ, असोज २१ । नेपाल सरकारले दशैंमा काठमाडौंबाट गाउँ जान र गाउँबाट फेरि काठमाडौं आउने काम नगर्न आग्रह गरेको छ । असोज १७ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले गाउँ जाँदा र फर्किँदा संक्रमण पनि सँगै जाने भएकाले यसपालि काठमाडौंबाट गाउँ नजान आग्रह गरेका हुन् ।

‘अरू जिल्लामा कोभिड-१९ क्रमश: नियन्त्रणमा आइरहेको भए पनि काठमाडौं उपत्यका अझै उच्च जोखिममा छ । देशभरिमा थपिने संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाकै हुन्छन्,’ मन्त्री ज्ञवालीले भने,‘यस्तो बेलामा दैनिक गतिविधि गर्दा विशेष सावधानी अपनाउन सरकारको आग्रह छ।’

उनले ६० वर्ष बढी उमेरका मानिसहरूलाई कोरोनाको संक्रमण दर र संक्रमणपछि मृत्युदर तुलनात्मक रूपमा बढी भएकाले आफ्ना अभिभावकलाई जोखिममा पार्न नहुने बताए।

उनले यसपालिको दशैंमा अभिभावकसँग टाढैबाट आशिर्वाद लिन पनि अनुरोध गरे । ‘सिसिएमसीले ‘आशिर्वाद जोगा‌औं’ भन्ने नारा नै बनाएको छ। हामीले यसपालि अभिभावक जोगायौं भने फेरि-फेरि उहाँहरूबाट आशिर्वाद लिन पाउँछौं,’ मन्त्री ज्ञवालीले भने।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !