१९ बैशाख २०८१, बुधबार

कञ्चनपुर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका ४ वटा बिओपी स्थापना


कञ्चनपुर, २६ असार । सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीले बिहीबार कञ्चनपुरका विभिन्न स्थानमा चारवटा बोर्डर आउट पोष्ट(बिओपी) स्थापना गरेको छ । सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन पुर्नवास नगरपालिका–१० दोधा, बेलौरी नगरपालिका–२ थापा चोक, सोही नगरपालिकाको वडा नं १० को भुडा र महाकाली नगरपालिका–१ बैलबन्दमा सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट स्थापना गरिएका हुन् ।

सशस्त्र प्रहरीको ७ नम्बर बाहिनीका बाहिनीपति (डिआइजी) हरिशङ्कर बुढथोकीले चारवटै बिओपीको उद्घाटन गर्नुभयो । बिओपी उद्घाटन गर्दै उहाँले सीमा क्षेत्रमा भारतीयतर्फबाट हुने घुसपैठ रोक्नका लागि सहज हुने बताउनुभयो । सीमा अपराध र सीमा अतिक्रमणलगायत समस्या समाधानका लागि सशस्त्र प्रहरीले चौबीसैँ घण्टा गस्ती गर्दै आएको बताउनुभयो । स्थापना गरिएका बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३५ जवानलाई खटाइएको छ ।

सीमा क्षेत्रमा केही दिनभित्रै थप चार वटा बिओपी स्थापना गरिने सशस्त्र प्रहरी बल नम्बर ३५ शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर शाहुले बताउनुभयो । उहाँका अनुसार सीमा क्षेत्रमा यसअघि १० वटा सशस्त्र प्रहरीका बिओपी रहेका थिए । चार वटा थप भएपछि बिओपीको सङ्ख्या १४ पुगेको छ । सशस्त्र प्रहरी सीमा क्षेत्रमा तैनाथ गरिएपछि चोरी, तस्करी, सीमा अतिक्रमणलगायत समस्या हट्दै गएका छन् । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा गस्ती गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !