७ बैशाख २०८१, शुक्रबार

एसिड प्रहार गर्नेलाई कडा कारबाही गर्न नयाँ कानुन बनाउन प्रधानमन्त्रीको निर्देशन


प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं, भदौ २५ । नेपालमा एसिड आक्रमणका दोषीलाई कडा कारबाही गर्न अध्यादेश मार्फत तत्काल नयाँ कानुन ल्याइने भएको छ । एसीड पीडितको माग अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नै १५ दिनभित्र कानुनको मस्यौदा बनाउन कानुनमन्त्री र सम्बन्धित निकायलाई निर्देशन समेत दिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

एसिड आक्रमणमा संलग्नलाई कडा कारबाही हुनुपर्ने माग गर्दै पीडित समूहले गरेको कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री ओलीले यस्तो आश्वासन दिएका हुन् । नयाँ कानुनमा अपराधीको सम्पत्ती रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्या‍एर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने छ।

प्रधानमन्त्री ओलीले एसिड पीडितलाई वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितको सम्पूर्ण खर्च सरकारले गर्ने घोषणासमेत गरेका छन् । एसिड आक्रमणकापछि पढ्न चाहनेका लागि निःशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने आश्वासन समेत प्रधानमन्त्री ओलीले दिएका छन् । पढाइबाहेक अन्य तालिम, रोजगारी, व्यवसाय र जिविकाको प्रबन्ध सरकारले मिलाउने उनको भनाइ छ ।

प्रधानमन्त्रीले सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहित गरिने समेत बताएका छन् । ओलीले हरेक वर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमण विरूद्दको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न आह्वान समेत गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !