१९ बैशाख २०८१, बुधबार

काठमाडौँ उपत्यकामा बुधवार मध्यरातदेखि निषेधाज्ञा : के गर्न पाइन्छ, के गर्न पाइदैन ?


लकडाउनको समयमा काठमाडौँ उपत्यका

काठमाडौं, भदौ २। काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । आज उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भाेलि भदौ ३ गते राति १२ बजेदेखि १ हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवा बाहेक अरु सेवाहरु बन्द हुनेछन् । उपत्यकामा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपनि प्रशासन सो निर्णयमा पुगेको हो । अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन ।

खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ । कोरोना नियन्त्रणलाई थप प्रभावकारी बनाउन जरुरी देखिएकाले संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम भोलि भदौ ३ गते बुधबार राति १२ बजेंदेखि भदौ १० गते राति १२ बजेसम्म निषेधाज्ञाको निर्णय हो ।

आज मात्रै काठमाडौं उपत्यकामा अहिलेसम्मकै बढी २०५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आज काठमाडौं जिल्लाका १३८ जना, ललितपुर जिल्लाका ५० जना र भक्तपुर जिल्लाका १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

हिजो काठमाडौं उपत्यकामा १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौँ उपत्यकामा संक्रमितको संख्या २५०० हाराहारी पुगिसकेको छ । नेपाल सरकारले देशभर संक्रमण बढ्न थालेपछि निषेधाज्ञाको निर्णय गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २८२५७ पुग्दा ११४ जनाको मृत्यु भइसकेको छ।

निषेधाज्ञाको समयमा के गर्न पाइन्छ र के गर्न पाइदैन त ?

निर्णय अनुसार औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास तरकारी, फलफूल दूध, दूरसञ्चार, फोहोर बोक्ने गाडी जस्ता अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने कुनै पनि मेला महोत्सव जात्रा, भिडभाड जस्ता गतिविधिमा पनि रोक लगाइएको छ ।

दैनिक नित्यपूजा बाहेकको धार्मिक तथा सांस्कृतिक गतिविधि, शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, भाषा कक्षालगायत पनि सञ्चालन गर्न पाइने छैन । सबै प्रकारका तालिम, गोष्ठी, सभा, सेमिनार, चिडियाधर लगायत खोल्न तथा सञ्चालनमा पनि रोक लगाइएको छ ।

फुटपाथ वा खुल्ला ठाउँमा र ठेलागाढा वा साइकलमा हुने विभिन्न व्यवसाय सञ्चालन तथा कवाडी संकलन रोक लगाइनुका साथै होटल, रेष्टुराँ सञ्चालन गर्न पनि पाइने छैन ।

बैंकिङ सेवा लगायत विभिन्न निकायहरुले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवा गर्ने व्यवस्था मिलाउन भनिएको छ तर सो सम्भव नभए न्यूनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गराउने गरी आवश्यक सेवा प्रवाह गर्न दिइने छ ।

यस्तै अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयाग तथा न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने नियम बनाइएको छ । हवाई उडानबाट विदेश जानेहरुको हकमा पासपोर्ट, भिषा, कन्र्फम हवाई टिकट देखाए एयरपोर्ट जानका लागि सवारी साधनको व सहजीकरण गर्न सकिने पनि निर्णयमा उल्लेख छ ।

यस्तै अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने तथा मूल्यवृद्धि गर्नेलाई कानुन बमोजिम कारबाही हुनेछ ।

काठमाडौँ उपत्यकामा भोलि मध्यरातदेखि निषेधाज्ञा : के गर्न पाइन्छ, के गर्न पाइदैन ?

काठमाडौँ उपत्यकामा भोलि मध्यरातदेखि निषेधाज्ञा : के गर्न पाइन्छ, के गर्न पाइदैन ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !