१४ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमित बढेपछि रुकुम पूर्वका सीमा बन्द


रुकुम पूर्वका सीमा बन्द

रुकुम पूर्व, ८ भदौ । रुकुम पश्चिममा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्न थालेपछि उच्च सतर्कता अपनाउदै रुकुमपूर्व भित्रिने नाका बन्द गरिएको छ । रुकुम पश्चिममा कर्मचारी र प्रहरीसहित आइतबार एकै दिन १८ जनामा कोरोना पुष्टि भएपछि जिल्लामा पनि सङ्क्रमणको जोखिम बढेको भन्दै सीमानाका बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आज राती १२ः०० बजेदेखि लागु हुने गरी यही भदौ १४ गते राती १२ः०० बजेसम्म सीमानाका बन्द गरिएको जनाएको छ । रुकुमपूर्वसँग सिमाना जोडिएका रुकुमपश्चिमका खोपीचार, छिङ, भलखोला, बागलुङको पातीहाल्ना, रोल्पाको धर्मशालालगायतका क्षेत्र बन्द गरिएको छ ।

आज बसेको डीसीसीएमसीको बैठकले कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सीमानाका पूर्ण रुपले बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो । कसैलाई जिल्ला भित्रिनैपर्ने भए पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको प्रजिअ राईले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !