६ बैशाख २०८१, बिहिबार

कर्णालीमा पोषण सम्बन्धी शिक्षा आवश्यक छ : मुख्यमन्त्री शाही


महेन्द्रबहादुर शाही

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा पोषण सम्बन्धी शिक्षा आवश्यक भएको बताउनुभएको छ । कर्णाली प्रदेश नीति तथा योजना आयोग सुर्खेतद्वारा बुधबार यहाँ आयोजित बहुक्षेत्रीय पोषण योजना सम्बन्धीे अभिमुखीकरण कार्यक्रममा उहाँले यहाँका नागरिकको खाद्यान्नमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो । “कर्णालीमा कुपोषण लगायतका थुप्रै रोग छन्”, उहाँले भन्नुभयो, “यसका लागि तालिम एवं प्रशिक्षण होइन, पोषणसम्बन्धी जनस्तरसम्म शिक्षा चाहिएको छ ।”

कर्णालीमा भोक लागेपछि मात्र खाने अवस्था विद्यमान छ भन्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई कुपोषणमुक्त प्रदेश बनाउने खालको नीति, कार्यक्रम तथा बजेट निर्माण गरेर अघि बढ्ने बताउनुभयो । उहाँले कर्णालीका नागरिकको प्रारम्भिक स्वास्थ्यसम्बन्धीको ज्ञान पाठ्यक्रममा नै उल्लेख गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सर्वजित खड्काले सबै सरोकारवालाको एकीकृत कार्ययोजनाबाट कर्णालीको कुपोषण दर घटाउन सकिने बताउनुभयो । यसका लागि सबैको हातेमालो आवश्यक रहेको उहाँको भनाइ थियो ।

अभिमुखीकरणमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव वसन्त अधिकारी र युनिसेफका नेपाल प्रतिनिधि प्रकाशचन्द्र जोशीले कर्णालीको पोषणसम्बन्धी तथ्याङ्कीय प्रस्तुति राख्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !