१४ बैशाख २०८१, शुक्रबार

संसदको अन्तिम बैठकमा देउवा–ओली जुहारी


असोज २९, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार आफ्नो अधिकार भएको जिकिर गरेका छन् । व्यवस्थापिका–संसदको बिदाइ बैठकलाई शनिबार साँझ सम्बोधन गर्दै उनले संक्रमणकालमा संविधानले मन्त्रीको संख्या निर्धारण नगरेको भन्दै ‘सरकार ठूलो भयो भन्ने विपक्षीको आरोपको औचित्य छैन’–भने ।

उनले निर्वाचन आयोग र राष्ट्रपतिलेसमेत सरकार विस्तारलाई सहजरुपमा लिएको पनि बताए । प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसले सबैभन्दा बढी त्याग गरेको भन्दै प्रजातन्त्रको लागि कांग्रेस कसैसँग नडग्ने र नडराउने पनि बताए । त्यसअघि, शनिबारै संसदको बिदाइ बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिताविपरीत प्रधानमन्त्रीले सरकार विस्तार गरेको भन्दै आक्रोश व्यक्त गरे ।

उनले ‘निर्वाचनको मुखमा किन मन्त्रीको जुलुस निकाल्न खोजेको ? भनी प्रश्न गरे ।ओलीले निर्वाचनमा तलमाथि नगर्न चेतावनी दिँदै ‘एमालेलाई कसैबाट लोकतान्त्रिक पार्टीको लाइसेन्स लिनु नपर्ने’ बताए । यस्तै, सोही बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवाले आफूहरुको सहयोगलाई विश्वास नगरेर राप्रपाका मन्त्रीहरु थपेको बताए ।

दाहालले वामपन्थी दलहरुबीच तालमेल हुनेबित्तिकै साम्यवाद आइहाल्यो भन्नुको तुक नरहेको भन्दै कम्युनिष्टहरुको एकतावाट कांग्रेस उत्तेजित हुनु आवश्यक नरहेको टिप्पणी गरे । आफूहरु संसदीय लोकतान्त्रिक पद्धतिप्रति प्रतिबद्ध रहेको भन्दै उनले ‘कम्युनिष्टहरुको एकता कांग्रेसविरुद्ध होइन’–भने । बिदाइ बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए ।

प्रमुख नेताहरुले संविधान जारी, संविधान कार्यान्वयनको लागि कानुन निर्माणलगायतका विषयलाई उपलब्धिपूर्ण कामकारुपमा व्याख्या गरेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु