२४ बैशाख २०८१, सोमबार

फड्के समूहको कथक नृत्यको प्रस्तुति शुभारम्भ


फड्के समूहको कथक नृत्य

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौँ तथा सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा भारतकी प्रतिष्ठित कथक नृत्य कलाकार तथा नृत्य गुरु रञ्जना फड्केको नेतृत्वमा तीन सदस्य समूहद्वारा ‘कथक नृत्य वाचन’ कार्यक्रम मङ्गलबार काठमाडौँबाट शुभारम्भ गरिएको छ ।

विगत ३५ वर्षदेखि शास्त्रीय नृत्यको कथक विधामा सक्रिय रहेकी नृत्य कलाकार फड्केको समूहद्वारा भगवान् शिव, कृष्ण, दुर्गा, पशुपतिनाथ र तीन तालमा आधारित छ कथक नृत्यको प्रस्तुति भएको थियो । उनलाई युवा कलाकार सुरवी सिन्त्रे र रसिका गाङ्गलले नृत्यमा साथ दिएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले सांस्कृतिक आदान–प्रदानमार्फत नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरिन् । उनले भनिन्, “यस्ता कार्यक्रममा यसमा आफ्नो भविष्य खोजिरहनुभएकालाई प्रेरणा दिन्छ, अगाडि बढ्न मद्दत गर्छ ।”

नृत्य गुरू फड्केको समूहले नेपालका तीन स्थानमा प्रस्तुति दिने कार्यक्रमअनुसार दोस्रो प्रस्तुति आज विराटनगरस्थित आरोहण गुरुकुलमा र तेस्रो प्रस्तुति यही असोज १९ गते पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानमा रहने छ ।

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रष्तिष्ठानका उपकुलपति, सदस्यसचिव, प्राज्ञ परिषद् सदस्य, सभा सदस्य, पूर्व पदाधिकारी, भारतीय दूतावासका प्रतिनिधि एवं सङ्गीत, नृत्य, नाटक क्षेत्रका विशिष्ट स्रष्टा, सर्जक, कलाकार र विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !