१८ बैशाख २०८१, मंगलबार

अनलाइन जुवामा पक्राउ परेका कलाकार र युट्युबरलाई ४ दिन हिरासतमा राख्न अनुमति


राजु मास्टर र बल्छी धुर्वे

काठमाडौंँ । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचार-प्रसार गरेको आरोपमा पक्राउ परेका ५ कलाकार र ३ जना युट्युबरलाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई अदालतमा उपस्थित गराएकोमा ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । पक्राउपछि अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँमा कारबाही प्रकिया अघि बढाउन पठाएपछि अदालतमा उपिस्थित गराइएको हो ।

अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचार-प्रसार गरेको आरोपमा आज कलाकारहरु राजु पौडेल ‘राजु मास्टर’ र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ पवन खतिवडा (म्याकुरी), भटभटे माइला (बेगम नेपाली) र सरोज घिमिरेलाई प्रहरीले पक्राउ गरेको थियो ।

यूट्युवरहरुमा एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटालाई पनि आजै प्रहरीले पक्राउ गरेको थियो । वान एक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले आफ्नो स्वामित्वका फेसबुक पेज र यु्ट्युबमार्फत अनलाइन बेटिङको प्रवर्द्धन गरेको पाइएको छ । प्रहरीले वानएक्स बेटमार्फत करोडौंको सट्टेवाजी भएको अनुसन्धानबाट खुल्न आएको बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !