१९ बैशाख २०८१, बुधबार

लाहुरेको सहर पोखरामा गुञ्जियो ‘नैनताल’


नैनताल

गण्डकी । ‘नैन ताल
घुमी आयो रेल
आँखामा लाउने कालो गाजल
बुलबुलेमा तेल…’

भनिन्छ, पोखरा ‘लाहुरेको सहर’ हो । मध्यसहरमा मङ्गलबार साँझ लाहुरेकै गीत गुञ्जियो, ‘नैनताल’ । जसले गोर्खाहरूको कथा भन्छ । गोर्खा सैनिकका दुःखवेदनाबाट जन्मेको गीतलाई नेपथ्यका गायक अमृत गुरुङले पोखरेलीमाझ सुनाए ।

प्रदर्शनी केन्द्रमा ठेलमठेल दर्शकबीच गुरुङले झण्डै तीन घण्टा गायकीको जादु चलाए । ‘मानवता लागि साङ्गीतिक यात्रा’मा निस्केको नेपथ्य टोलीले मानवसेवा आश्रमका लागि आफ्नो ‘लाइभ कन्सर्ट’ समर्पित गरेको थियो ।

सधैँझैँ जिन्सको पहिरनमा उस्तै उर्जा, शैली र हाउभाउमा प्रस्तुत भएका गायक गुरुङले अन्तिमसम्मै दर्शकलाई कन्सर्टमा रोक्न सफल भए । उनले गीत आफैँमात्र गाएनन्, दर्शकलाई पनि गला मिलाउन बाध्य तुल्याए । ताली र वाहीवाहीसँगै दर्शकले नाचेर पनि साथ दिए ।

मानवसेवा आश्रमको भवन निर्माण सहयोर्ग नेपथ्यलाई जोड्न पाएकामा गायक गुरुङले आफूहरूलाई धन्य ठाने । ‘सहयोगापेक्षी सडक मानवमुक्त नेपाल’ बनाउने अभियानमा सबैलाई हातेमालो गर्न उनले अनुनय गरे ।

“यस्तो सुन्दर ठाउँमा जन्मन पाएकामा आमा तिम्रो कोखलाई धन्यवाद’ भनेका गुरुङले हरेकले एकपटक देश दर्शनमा जानुपर्ने उल्लेख गरे । गीतको खोज र सङ्कलनकै क्रममा धवलागिरि क्षेत्रमा हिमाल–पहाड चहारेका उनले गीतबाटै दर्शकलाई पनि उतै लगे ।

‘तकसेरा झरौँला, डम्चनमा बसौँला
ढोरपाटनमा घरजम गरौँला
शिरफूल शिरैमा, वनफूल वनैमा
हिउँको फूल धौलाश्रीमा…’

तक्सेरा रुकुमपूर्व पर्छ भने र ढोरपाटन बागलुङमा । गीतमा उल्लेख ‘धौलाश्री…’ म्याग्दीको हिमाल हो । हिमाल, पहाड, तराई जहाँ गयो त्यहीँको ठाउँले आफूलाई लोभ्याउने गरेको सुनाएका गुरुङ गीतमार्फत् एकैछिनमा पूर्व पुगे ।

‘कोसीको पानी यो जिन्दगानी सललल जाइजाने हौ हजुर
आमाको कोखमा बासमात्रै लिएँ नि कुन देशको मरण हौ हजुर…’

एकातिर गीत र अर्कातिर बीचबीचमा सन्देशप्रद विचार राखेर गुरुङले दर्शकको मन जितिरहे । राजनीतिज्ञ र प्रशासकलाई उनले आग्रह गरे– “युवालाई विदेश पयालयन हुनबाट रोकौँ, रोजगार सिर्जना गरेर यहीँ काम दिऔँ ।” गुरुङले कोही पनि नेपाली रोजरोटीका लागि विदेश जान नपरोस् भनेर काम गरे ।

गुरुङले नेपथ्यका चर्चित गीत ‘रेशम’ ‘तालको पानी’, ‘जोगले हुन्छ’, ‘जोमसोमे बजार’, मै ‘नाचे छम्छमी’लगायत गाए । उनलाई ड्रमसेटमा धु्रव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले साथ दिएका थिए ।

बत्तीस वर्षअघि जन्मेको नेपथ्य देश–विदेशमा प्रसिद्धि कमाएको लोक रक ब्याण्ड हो । ब्याण्डले यसपालि मानवसेवा आश्रमको आयोजनामा देशमा प्रमुख सहरमा लाइभ कन्सर्ट गरिरहेको छ । पोखरामा पनि आश्रमकै भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले कन्सर्ट राखिएको हो ।

पोखरा महानगरपालिका–२५ हेम्जामा आश्रमको भवन निर्माणाधीन अवस्थामा छ । रु १० करोड लाग्ने सो भवनका लागि बजेट अभाव भएपछि आश्रम व्यवस्थापनले नेपथ्यसँग मिलेर साङ्गीतिक अभियानको जुक्ति निकालेको थियो । त्यसकै लागि टिकट किनेर सयौँ दर्शकहरू कन्सर्टमा पुगेका थिए ।

मानवता प्रवद्र्धन महाअभियामा लागेको आश्रमले सरकारसँग मिलेर सडक मानवमुक्त देश घोषणा गर्ने लक्ष्य लिएको छ । सोही उद्देश्यका लागि विभिन्न जिल्लामा अहिले आश्रमका भवन बनिरहेका छन् । प्रदेश राजधानी पोखरासँगै बागलुङमा पनि आश्रमको भवन निर्माणाधीन अवस्थामा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !