२० बैशाख २०८१, बिहिबार

स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज फेरि पक्राउ


अपूर्व क्षितिज सिंह

काठमाडौं । स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिजलाई फेरि पक्राउ परेका छन् । कमेडियन अपूर्वलाई प्रहरीले हिजो सोमबार काठमाडौंबाट फेरि पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार उनलाई भोलि अदालत उपस्थित गराउन फेरि पक्राउ गरिएको हो । आज सार्वजनिक विदा भएकोले उनलाई भोलि अदालतमा उपस्थित गराइने भएको हो ।

जातीय टिप्पणी गरेको आरोपमा कमेडियन सिंहलाई यसअघि प्रहरीले पक्राउ गरेको थियो । नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन सिंहविरूद्ध प्रहरीमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको थियो ।

सिंहले हाँस्यव्यंग्य गर्दा नेपाल भाषा, खाना तथा महिलाहरूमाथि व्यंग्य गरेको भन्दै सिंहविरूद्ध ८५ जनाले जाहेरी दिएका थिए । सिंहको स्ट्यान्डअपको भिडिओ कमेडी क्याफेको युट्युब च्यानलमार्फत् ‘नेवारको परम्परा’ शीर्षकमा अपलोड गरिएको थियो । तर पछि सिंहले उक्त भिडिओ युट्यूवबाट हटाइसकेर क्षमायाचना पनि गरेका थिए ।

कमेडियन सिंहलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि तारेखमा रिहा गरिएको थियो । यसअघि दुवैपक्ष मिलिसके पनि अदालती प्रक्रिया अघि बढिसकेकाले पक्राउ गरिएको हो ।

यसअघि अपूर्वलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेर थुनामा राखेको थियो । तर कोरोना संक्रमण भएपछि उनलाई भदौ २३ गते रिहा गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !