२४ बैशाख २०८१, सोमबार

कालीकोटमा नौ स्थानीय तहमध्ये आठमा पुग्यो बिजुली


विजुली प्रशारण लाइन फाइल फोटो

मान्म । कालीकोटका नौ स्थानीय तहमध्ये आठवटामा बिजुली पुगेको छ । अब पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी छ । नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले जिल्लाका आठ स्थानीय तहमा विद्युत्को पहुँच विस्तार भएको जानकारी दिए ।

रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा विद्युत्को पहुँच पुगेको छ । आठवठै पालिकाको केन्द्रसम्म बिजुली पुगेको भए पनि सबै वडामा भने पुर्याउन बाँकै नै छ ।

आठवटै स्थानीय तहका वडा वडामा विद्युत्को प्रसारण लाइन जोड्ने काम भइरहेको प्रमुख साहले जानकारी दिए । “गाउँगाउँमा अहिले बिजुलीका खम्बा गाड्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “अब चाँडै पलाँतामा पनि बिजुली पुर्याउँछौँ”, उनले भने ।

पलाँता गाउँपालिकाको केन्द्रसम्म चालु आर्थिक वर्षभित्रै विद्युत्को पहुँच विस्तार गर्ने गरी काम भइरहेको प्रमुख साहले बताए । “अहिले त्यहाँ बिजुली पु¥याउनका लागि खम्बा गाड्ने काम भइरहेको छ,” उनले भने ।

जिल्लामा कूल २६ हजार सात सय ७९ घरधुरीमध्ये हालसम्म चार हजार पाँच सय घरमा विद्युत्को मिटर जडान गरिएको प्रमुख साहले बताए । “विद्युत् पुगेको क्षेत्रमा घरधुरीको अनुपातमा कमैलै मात्र मिटर जडान गरेका छन्”, उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !