५ जेष्ठ २०८१, शनिबार

काठमाडौं र ललितपुरका यी स्थानमा भोलि शनिबार बत्ती जाने


नेपाल विद्युत् प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली भोलि शनिबार साउन ६ गते बन्द हुने भएको छ । काठमाडौंको टेकुस्थित विद्युत प्राधिकरणको सबस्टेसनबाट आपूर्ति भइरहेको बिजुली भोलि ८ घण्टासम्म बन्द हुने बताएको हो ।

प्राधिकरणले आज शुक्रबार सूचना जारी गरी साउन ६ गते बिहान साढे ८ बजेदेखि दिउँसो साढे ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको हो । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा टेकू सबस्टेसन स्तरोन्नति गर्ने भएकाले भोलि विद्युत् आपूर्ति बन्द गर्नुपर्ने प्राधिकरणले जनाएको हो ।

प्राधिकरणद्वारा सार्वजनिक गरिएको सूचनामा भनिएको छ, “टेकु स्युचाटार ६६ केभी लाइन १३२ के.भी मा चार्ज गर्ने गरी कार्य भइरहेको छ । प्रथम चरणको सब स्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकु सबस्टेसनको विद्यमान इनकमर– १ प्यानल तथा दुई वटामध्ये एउटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएको छ ।”

प्राधिकरणले निकालेको सूचनाअनुसार बागमती फिडरअन्तर्गत भोलि सानेपा राममन्दी, गुसिंगाल, एडभान्स कलेज, अमरावती सानेपामा मोड, रेडियन्ट स्कुल क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।

पुल्चोक फिडरअन्तर्गत बल्खु, हेल्थपोस्ट, झम्सीखेल, पुल्चोक प्रधानसेनापति निवास र ठाडोढुंगा क्षेत्र तथा चमती फिडरअन्तर्गत ज्ञान तीर्थमार्ग, कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, चमती, किमडोल र बारुद खाना क्षेत्रमा विद्युत् बन्द हुनेछ ।

कीर्तिपुर फिडरअन्तर्गत बल्खु, खसीबजार, त्रिभुवन विश्वविद्यालय, चोभार, टौदह र ट्याङ्लाफाँटको केही भागमा पनि बिजुली बन्द हुने सूचनामा भनिएको छ।

त्रिपुरेश्वर फिडरअन्तर्गत टेकुदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी वस्ती र वर्ल्ड ट्रेड सेन्टर तथा थापाथली स्विचिङअन्तर्गत त्रिपुरेश्वर चोक, आशा अस्पताल, रंगशाला, नर्भिक अस्पताल, प्रसूति गृह हुँदै बबरमहलसम्म, सानेपा, कुपण्डोल हिमालय होटल, स्थानीय विकास मन्त्रालय र पुल्चोकसम्म विद्युत् सेवा बन्द हुने छ ।

यस्तै भैँसीपाटी फिडरअन्तर्गत महतो मार्ग, भैँसेपाटी आवास, भैँसेपाटी चोक, एकल डाँडा र क्षेत्रपाटी फिडरअन्तर्गत विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क, ढल्कु चोकदेखि क्षेत्रपाटीसम्म बिजुली आपूर्ति बन्द हुनेछ ।

नेपाल विद्युत प्राधिकणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित हुने गरी सबै फिडरमा नियमित विद्युत आपूर्ति गर्ने प्रयास गर्ने जनाएको छ ।

यस्तो छ हेर्नुहोस् नेपाल विद्युत प्राधिकरणले निकालेको सूचना

नेपाल विद्युत प्राधिकरणले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !