, बालबालिका आफैँ पढ्दै र पढाउँदै

बालबालिका आफैँ पढ्दै र पढाउँदै

रामपुर, १५ जेठ । कोरोना भाइरस सङ्क्रमणको कारण भएको बन्दाबन्दीले शैक्षिक संस्था बन्द हुँदा पाल्पा रामपुरका गाउँका बालबालिका आफैँ सिक्ने र सिकाउने गर्न थालेका छन् । कक्षा नर्सरीदेखि ६ सम्मका बालबालिका दैनिक जम्मा भएर पढ्ने र पढाउने कार्य गरिरहेका छन् । माथिल्ला कक्षामा पढ्ने विद्यार्थी साना कक्षाका भाइबहिनीलाई पढाउने र आफू पनि साथमै बसेर पढ्ने गरेका छन् ।

टोलमा रहेको चेतनशील आमा समूहको भवनमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नियमित पठनपाठन भइरहेको छ । टोलका १८ बालबालिका दैनिक खाना खाएर झोला बोकेर भवनमा गई पढ्ने गर्छन् । विद्यालय जान नपाएपछि खेल खेलेर समय बिताउनुभन्दा टोलका भाइबहिनीलाई जम्मा गरेर पढ्ने र पढाउने कार्यमा लागेको सीताराम मावि कक्षा ६ की छात्रा कृष्टिना शाहीले बताउनुभयो ।

आफूले टोलका माथिल्लो कक्षा उत्तीर्ण दाजुदिदीका पुराना किताब ल्याएर पढिरहेको कालिका आधारभूत विद्यालय कक्षा ४ की छात्रा मनकला वीरकट्टा बताउनुहुन्छ । बालबालिका आफैँ सक्रियतापूर्वक पढ्ने र पढाउने कार्य अत्यन्तै राम्रो रहेको रामपुर–४ का वडा सदस्य सीमादेवी रानाले बताउनुभयो ।